विधान अनुसार नै महाधिवेशन हुन्छः नेता सुरेन्द्रराज पाण्डे

रिपोर्ट नेपाल | 2019 Aug 20 | 06:08 pm 5253

नेपाली कांग्रेसका युवा नेता तथा कांग्रेस संसदीय दल राष्ट्रिय सभाका नेता सुरेन्द्रराज पाण्डे सभापति शेरबहादुरका विश्वास पात्रका रुपमा चिनिन्छ । नेपाली कांग्रेस भित्रको आन्तरिक किचलोलाई वार्ताका माध्यमबाट मिलाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्छ भन्ने मान्यता पनि पाण्डेले राख्दै आएका छन् । नेता पाण्डेसँग रिपोर्ट नेपालले कांग्रेस भित्रको आन्तरिक किचलो लगायतका विविध विषयमा गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं ।

महाधिवेशनको तिथि मिति थाहा नहुँदै कांग्रेस भित्र नेतृत्वका लागि होडबाजी र आन्तरिकद्वान्द बढेको देखिन्छ के हो ?
बाहिर हेर्दा कांग्रेस भित्र मारामार भएको देखिन्छ र विपक्षीहरु कांग्रेस लडे भनेर खुशीले बुरुक बुरुक भएका हुन्छन । प्रजातान्त्रिक पार्टी भित्र कहिले काँही केही कुराहरुमा आन्तरिक विवाद हुनु स्वभाविक पनि हो । सबै कुरा सबैले मान्य नहुन पनि सक्छ । त्यस्तो अवस्थामा हामीहरु टेबुलमा बसेर त्यसको सामाना गर्ने गरेका छौं । तपाईले भने जस्तो तिथि मिति त विधानले तय गरेको छ । विधानले निर्दिष्ट गरेको समयमा महाधिवेशन नगरी सुखै छैन ।

कहिले हुन्छ त महाधिवेशन ?
हामी सकभर समयमै महाधिवेशन गर्ने सोचमा छौं । त्यसका लागि नेताबीच कुरा भइरहेको छ ।

महाधिवेशन गर्नु अघि जिल्ला क्षेत्रको निर्वाचन एक वर्ष अघि गर्नुपर्ने होइन र ?
नेपाली कांग्रेसको विधानमा एक वर्ष र नेपालको संविधानमा थप ६ महिना थप्न पाउने प्रावधान छ । सरासर महाधिवेशन गर्दा आगामी फागुन महिनामा गर्नुपर्छ । त्यो सम्भव छैन भन्ने सबै नेताले स्विकार गरिसक्नु भएको छ । फागुनमा नभएपछि थप हुने एक वर्ष बाहेक समय थप्न नपरोस भन्नेमा सबै नेताको एकमत छ । आन्तरिक संरचना निर्माण भएपछि क्रियाशिल सदस्यता वितरण हुन्छ । त्यसपछि वडा, गाउँ, नगरको अधिवेशन हुन्छ । हामी विधानलाई नाघेर बाहिर जादैनौं ढुक्क हुनुहोस विगतमा जसरी महाधिवेशन हुँदै आएका छन् त्यसै गरी समयमै महाधिवेशन हुन्छ ।

वर्तमान शेरबहादुर देउवाको नेतृत्व प्रति प्रश्न उठेको छ नि तपाई के भन्नुहुन्छ ?
सशक्त कांग्रेस जसरी हुनुपर्ने थियो त्यो हुन नसकेको कुरा प्रति कसैको दुईमत छैन । हामीले अर्कामाथि प्रश्न उठाउँनु पूर्व आफैंमा त्यसको उत्तर खोज्न जरुरी छ । कमजोरी नभएका होइनन् भए तर, त्यसको दोष सभापतिमाथि थोपारेर हामी पानीमाथिको ओभानो बन्नु हुँदैन । यस्ता गलत सोच र प्रश्नले पार्टीलाई फाइदा पुग्दैन ।

कांग्रेस यतिखेर निरिह प्राणी जस्तै टुलुटुलु हेरेर बस्यो भन्नेहरु पनि छन नि तपाई के भन्नुहुन्छ ?
हामीले कम्युनिस्टले रत्नपार्कका रेलिङ भाँचे जस्तै भाँच्दै हिड्नु त भएन नि । नेपाली कांग्रेस जिम्मेवार र जनता प्रति जवाफदेही पार्टी भएकोले जनताले रगत पसिना बगाएर ल्याएको लोकतन्त्रको नासोलाई कसरी बचाउने र देशलाई समृद्धीमा लैजाने भन्ने सोचमा छौं ।

सरकारको काम कारबाही र कृयाकलापका बारेमा भन्नुपर्दा तपाई के भन्नुहुन्छ ?
मैले ज्यादा टिकाटिप्पणी गर्दा पूर्वाग्राही भयो भनिएला । सरकारले प्रदर्शन गरेको गाईजात्राका विषयमा उहाँहरुकै पार्टीका प्रभावशाली नेताले भन्दै आएका छन् त ।

सरकार त समृद्ध नेपाल सुखी नेपालीको लागि काम गरेको दावी गर्दै छ त ?
सरकार गठन गर्ने समयमा नेपाली जनताले दुई तिहाई प्राप्त गरेको केपी ओली नेतृत्वको सरकारसँग जुन आशा र भरोसा गरेका थिए ती सबै चकनाचुर भएर सपनामा परिणत भए । सरकारसँग गरिएको विश्वास आज अविश्वासमा परिणत भइरहेको छ ।

प्रतिपक्षले त यस्तो आरोप लगाई हाल्छ नि होइन र ?
हामीले मात्रै होइन स्वयम् नेकपाकै नेताहरुले समेत सरकारको आलोचना गरेका छन् । हिजो नेकपा एमाले र माओवादीलाई भोट हालेकाहरु अहिले पछुतो मानिरहेका छन् । हामीले मात्रै किन विदेशीले समेत सरकारले केही गर्न नसकेको भन्दै ठोस योजना ल्याउन नसकेको भनिरहेका छन् ।

प्रतिपक्षको भूमिका अत्यन्तै फितलो भयो भन्छन नि के हो ?
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले कम्युनिस्टले जस्तो सदनमा माइक, कुर्सी भाँच्ने काम गर्दैन । संसदीय अभ्यास अनुसार सरकारका हरेक गलत कृयाकलापका विरुद्ध बुलन्द आवाज उठाएकै छौं । सरकारले ल्याएका थुप्रै अप्रजातान्त्रिक विधेयकको खुलेर विरोध गरेपछि नाकको तालले सरकारले फिर्ता लिएको पनि छ । सरकारले संसदमा दर्ता गरेका कतिपय विधेयक बहसमा ल्याउने तागत देखाएको छैन ।

एकातिर प्रजातान्त्रिक पार्टी भन्नुहुन्छ अर्कोतर्फ बारम्बार सानातिना कुरामा पनि संसद अवरुद्ध गर्नुहुन्छ किन नि ?
सरकारले गरेका गलत कृयाकलापको विषयमा संसदमा प्रतिपक्षलाई वेवास्ता गरेपछि हामीले बाध्य भएर अवरुद्ध गरेका हौं । हामीले त अवरुद्ध मात्रै गरेका छौं यदी कांग्रेसले यो सरकारले जस्तै जनविरोधी काम आफ्नो सरकार हुँदा गरेको भए आज सदनका माइक र कुर्सी कति तोडफोड हुन्थे तपाई आफैं विगतलाई फर्केर हेर्नुस त !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.