विधानको मस्यौदा तयार पार्न कांग्रेसले तीन उपसमिति गठन गर्‍यो

रिपोर्ट नेपाल | 2018 Sep 02 | 06:25 pm 1510

काठमाडौँ, भदौ १७ : विधानको मस्यौदा तयार पार्नका लागि नेपाली कांग्रेसले तीन उपसमिति गठन गरेको छ । कांग्रेसको विधान मस्यौदा समितिले विधानको मस्यौदा तयार पार्न उपसमिति गठन गरेको हो।

समितिले आइतबार पत्रकार सम्मेलन गरी विधानको प्रारम्भिक मस्यौदा तयार पार्न संरचनासम्बन्धी उपसमिति, कार्य विभाजनसम्बन्धी उपसमिति र अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धी उपसमिति गठन गरेको जानकारी दिए।

पार्टीको विधान संशोधन गर्ने जिम्मेवारी पाएको संरचनासम्बन्धी उपसमितिमा फरमूल्लाह मन्सुर संयोजक तथा आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी र महालक्ष्मी डिना सदस्य रहेका छन्। यस्तै, पार्टीका सबै निकायको काम, कर्तव्य र अधिकारका प्रारम्भिक मस्यौदा तयार पार्ने जिम्मेवारी डा। मिनेन्द्र रिजाल संयोजक तथा दिलेन्द्रप्रसाद बडु, सिता गुरुङ र मदनबहादुर अमात्य रहेको कार्य विभाजनसम्बन्धी उपसमितिलाई दिइएको छ।

यसै गरी मानबहादुर विश्वकर्मा संयोजक तथा रमेश लेखक, प्रदीप पौडेल र अमरसिंह पुन अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धी उपसमितिमा रहेका छन्। तीन वटै उपसमितिलाई आगामी भदौ २३ गतेभित्र विधान संशोधन सम्बन्धी प्रारम्भिक मस्यौदा तयार पारी समितिमा पेस गर्ने कार्यदिशा दिइएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए।

कांग्रेसले राज्य पुनर्संरचना अनुसार पार्टीको विधान तयार पार्न महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो। समितिले भदौ महिनाभित्र तयार हुने गरी पार्टीको विधान संशोधन मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ। प्रवक्ता लेखकले विधान संशोधनको मस्यौदा तयार पार्नका लागि आवश्यक आधार र क्षेत्र पहिचानको काम सम्पन्न गरिएको पनि स्पष्ट पारे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.