विदेश जानुभन्दा बाख्रा पाल्न ठीक

| 2023 Jan 23 | 07:41 am 1325

तनहुँ, माघ ९ः गाउँघरमा प्रशस्त जमिन भए पनि प्रायः युवा स्वदेशमा कृषि पेसा गर्नुभन्दा विदेश जान मरिहत्ते गर्छन्। उनीहरू पुख्र्यौली जग्गा जमिन बाँझो राखी लाखौँ रुपियाँ ऋण लिएर विदेशमा भौँतारिन्छन्।

कृषि क्षेत्रमा काम गर्ने युवा जनशक्ति नहुँदा जमिन बाँझै राख्ने गरिएको छ। यस्तै युवाको बीचमा तनहुँका एक युवकले विदेश जान ठिक्क पारेको खर्च बाख्रापालन र तरकारी खेतीमा लाएपछि विदेशको रहर पुगेको बताएका छन्।  म्याग्दे गाउँपालिका–५ चिमखान निवासी कृष्ण खड्काले कृषि पेसाबाट वार्षिक छ लाख रुपियाँ नाफा कमाउनुभएको छ। खड्काले फाम नै दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन र तरकारी खेती गरेका छन्। बाख्रापालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपियाँ बचत हुने गरेको छ।

युवा कृषक खड्काले सञ्चालन गरेको कृपा कृषि तथा पशु फर्ममा २८ वटा बाख्रा रहेका छन् । उनी भन्छन्, विदेश गएको भए यतिको कमाइ हुन्थ्यो कि हुन्थेन कुन्नी ? मैले त स्वदेशमै काम गर्दा अरूहरूलाई पनि रोजगारी दिएको छु।

घरमा श्रीमती, छोरा र बुबाआमासहित १० वर्ष अघिदेखि नै कृषिमा पेसामा लाग्नु भएको छ। अरबको तातो भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा कृषि पेसा गर्न उचित लागेर विदेश नगएको खड्काले बताए। काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानु नपर्ने रहेको छ खड्काले थपे, बाख्रापालनबाट मासिक ३० देखि ३५ हजार रुपियाँ र तरकारी खेतीबाट मासिक १५ हजारभन्दा बढी आम्दानी हुने गरेको छ।

उनले आफ्नै जग्गामा बाख्राका लागि डाले घाँस खेती गरेका छन्र। “बाख्राको मलबाट डाले घाँस र तरकारी खेती फस्टाउने भएकाले व्यवसायमा सफलता मिलेको छ,” खड्काले भने।

स्थानीय खरी जातको बाख्राको मूल्य राम्रो हुने र रोग पनि कम लाग्ने हुँदा बाख्रा व्यवसायमा आफूलाई सन्तुष्टि मिलेको खड्काले बताए। करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको खड्काले बताए। “बजार नजिक भएकाले बिक्रीका लागि समस्या छैन,” खड्काले भने।

हालसम्म कुनै पनि सङ्घ संस्थाबाट अनुदान रकम नपाएका खड्काले “गाउँमा अन्नबाली, फलफूल तथा तरकारी खेती तथा पशुपालनका लागि प्रशस्त जमिन भएमा कृषि पेसा अँगाल्न सुझाव दिए। विदेशमा पसिना बगाउन जाने सोचाइ परिवर्तन गरी स्वदेशमै केही व्यवसाय गर्दा राम्रो आम्दानी गर्न सकिने अनुभव उनको छ। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.