विदेशी लगानी स्वचालित स्वीकृत हुने

रिपोर्ट नेपाल | 2023 Apr 11 | 07:15 am 865

काठमाडौँ, चैत २८ः नेपालमा लगानी हुने १० करोड रुपियाँसम्मको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अब स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ ।

उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली–२०७७ लाई संशोधन गरी दुई करोडदेखि १० करोड रुपियाँसम्म लगानी हुने परियोजना/प्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो । नियमावली हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै कार्यान्वयनमा आएका हो । विदेशी लगानी स्वीकृत अब अनलाइबाट हुँदा लगानीकर्तालाई सहज हुने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले नियमावली संशोधन गरेर १० करोड रुपियाँ बराबरको वैदेशिक लगानी अनलाइनबाटै स्वीकृत हुने व्यवस्था गरिएको जानकारी दिए ।

“लगानी स्वीकृत गर्न विभागमा उपस्थित हुनु पर्दैन । आवश्यक कागजपत्र पु-याएका लगानीकर्ताका आवदेन अनलाइनबाट स्वीकृत हुुन्छ । यसले छिटोछरितो र सहज बनाउँछ,” उनले भने । यसअघि विदेशी लगानी स्वीकृत गर्न विभागमा व्यक्तिसमेत उपस्थित हुनुपर्ने झन्झटिलो प्रक्रियालाई सरलीकृत गरेर सिधै स्वचालित मार्गबाट गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

संस्थागत सुधारको अभाव, अनलाइन प्रणालीबाट लगानी भित्र्याउने कार्य चुस्त नहुनु, डकुमेन्ट पु-याउनुपर्ने बाध्यता र लगानी भित्र्याउन निकायले सहजीकरण नगरी काममा ढिलासुस्ती हुँदा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता कम आकर्षित हुने गरेको विज्ञहरूको भनाइ छ ।

राजपत्रमा सूचना प्रकाशित गरी स्वचालित मार्गबाट सेवा प्रदान गर्न सकिने गरी निर्धारण गरेको लगानीको सीमामा नबढ्ने गरी शतप्रतिशत सेयर स्वामित्वमा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको कम्पनीको तत्काल पुँजी वृद्धिका लागि व्यवस्था गर्न सकिने बनाइएको विभागले जनाएको छ ।

स्वचालित मार्गबाट विदेशी लगानीसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीबमोजिम विदेशी लगानीको स्वीकृतिका लागि पेस गर्नुपर्ने विवरण तथा कागजपत्र विद्युतीय प्रणालीबाट पेस गर्न सकिने गरी विद्युतीय प्रणाली सञ्चालन गरिने विभागले जनाएको छ । विदेशी लगानीसम्बन्धी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लगइन गरी सो प्रणालीले माग गरेबमोजिमको विवरण तथा कागजपत्र विद्युतीय प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ ।

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात प्रविष्टि गरेपछि लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीबाट पेस गर्नुभन्दा पहिले सम्बन्धित विद्युतीय लगानीकर्ताले प्रविष्टि गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनुपर्ने भए सच्याउन सकिने व्यवस्था नियमावलीमा गरिएको छ । विदेशी लगानी स्वीकृतका लागि विभागको विद्युतीय प्रणालीमा पेस भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्टि गरेको इमेल ठेगानामा आवेदन नम्बरसहितको लगानी स्वीकृत भएको जानकारी दिइनेछ ।

स्वचालित मार्गबाट विदेशी लगानी गर्न सकिने उद्योग वा व्यवसायहरूमा ऊर्जामूलक, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित, सेवामूलक, उत्पादनमूलक उद्योगहरू रहेका छन् । यस्तै ऊर्जामूलक उद्योगमा वायु, सौर्यशक्ति, बायोमास, बायोग्यासमा आधारित ऊर्जा चिनी उद्योगको सहउत्पादनका रूपमा उत्पादन हुने ऊर्जा रहेका छन् । यस्तै कृषि तथा वन पैदावारमा आधारित उद्योगमा फलफूल तथा तरकारी प्रशोधन, हरित गृह, रेशम प्रशोधन, चिया तथा कफी प्रशोधन, जडीबुटी, मह प्रशोधन, रबर प्रशोधनलगायत छन् । यस्तै पूर्वाधार उद्योगमा सवारी पार्किङ स्थल, निर्यात प्रशोधन क्षेत्र, प्रदूषित पानी प्रशोधन उद्योग र निजी वेयर हाउस छन् । पर्यटन उद्योगमा होटेल, रिसोर्ट बार तथा रेस्टुराँ, केबलकार निर्माण गरी सञ्चालन गर्ने उद्योग, मनोरञ्जन पार्क, वाटर पार्क रहेका छन् । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.