विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो, शिक्षा नीति सुधारौं : प्रचण्ड

| 2019 Apr 03 | 05:20 pm 1528

काठमाडौं, चैत्र २० : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनी र गरिवबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका छन् । बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारका आगामी बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने बताए ।

उनले  रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने पनि बताए । पढेको जनशक्ति विदेश पलायन हुने क्रम रोक्न पनि सरकारले त्यसका लागि आवश्यक योजना बनाउनुपर्ने उनको भनाई थियो । उनले भने, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’

राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदामाथिको छलफलमा भाग लिँदै उनले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

अध्यक्ष प्रचण्डले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकारलाई आग्रह गरे । उनले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.