कैलाली, पुस २६ः २७ वर्षीय पञ्चकुमार डीसी भारतको बैंगलोर जान पत्नी रजनपुरा रोकाया डीसीको हात समातेर कैलालीको गौरीफन्टा सीमानाकामा लाम लागेका थिए। कर्णाली प्रदेशको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–२ का डीसीको अनुहार मलिन थियो। उनी पहिलो पटक काम खोज्दै भारत जान लागेका रहेछन् ।
‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्थानीय तह र मेरो तह जोडिएका छन्। म उहाँको छिमेकी हो’, डीसीले भने, ‘तर, कुनै फरक अनुभूति भएन। उहाँले निर्वाचनका बेला गर्नुभएका वाचा सबैले बिर्सिसक्नुभयो।’
डीसी गाउँमा मेलमिलाप सहजकर्ता हुन्। तर, त्यो जागिर सकिएपछि, उनी बेरोजगार भएर भारततिर हिँडेका हुन्। ‘भएको सानो रोजगारी पनि सकियो’, उनले भने, ‘अब श्रीमती लगेर दुवै जना काम गर्ने भनेर भारत जान लागेको।’
उनले निर्वाचनमा भोट दिए। ‘मैले भोट दिएका नेताले जित्नुभएको पनि हो। उहाँकै पार्टी सरकारमा छ’, उनले भने, ‘दुईतिहाइनजिकको प्रतिनिधिसभा अहिले भंग भएको छ। कुनै नेता पदका लागि सडकमा आएका छन् भने कुनैले पद नछाडेका कारण यत्रो लडाइँ भइरहेको छ। वितृष्णा जाग्छ मनमा। गाउँमा बस्ने त मन हुन्छ तर के गरेर बस्ने ? के खाएर बस्ने ?’
बैतडीको दशरथचन्द नगरपालिका–५ औलाका २७ वर्षीय पदम कोली र २३ वर्षीय नीरज कोली दाजुभाइ रहेछन्। उनीहरूले पनि गत निर्वाचनमा भोट दिए। ‘यसपालिको सरकारले भारतमा जानेहरूलाई रोक्छ, गाउँमै रोजगारी सिर्जना हुन्छ, सबैले नोकरी पाउँछन् भनेका थिए’, पदमले भने, ‘तर, आफैँ लडेर कोही सडक त कोही सत्तामा छन्।’
प्रतिनिधिसभा विघटन भएपछि वैशाखमा निर्वाचन घोषणा भएको छ। निर्वाचनमा सहभागी हुनु हरेक सचेत नेपालीको दायित्व हो। तर, भारतमा सुरक्षागार्डको जागिरमा रहेका नीरजले भने, ‘हाम्रा मत ती नेता र तिनका आफन्त बनाउनका लागि हुन्, यसपालिको निर्वाचनमा त घर पनि आइन्न।’ अन्नपूर्ण पाेस्ट दैनिकबाट