काठमाडौं, जेठ २६: भूपरिवेष्ठित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विज्ञहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार मंगोलिया जाने भएका छन् ।
आउँदो सोमबार र मंगलबार हुने उक्त बैठकका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली मंगोलियाको उलानबटार जान लागेका हुन् । बैठकमा वैदेशिक लगानी, सूचना प्रविधि र कनेक्टिभिटीका विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगोलिया भ्रमणको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च स्तरीय भेटघाट गर्नुका साथै त्यहाँका समकक्षीसँग द्विपक्षीय हितका विषयमा कुराकानी गर्नेछन् ।
उक्त भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैर आवासीय राजदूतसमेत रहेका लीलामणि पौड्याल पनि सहभागी हुनेछन् । परराष्ट्र मन्त्री ज्ञवाली आउँदो बुधबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।