विजयादशमीको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेट जाँदा

| 2023 Oct 03 | 07:46 pm 1453

काठमाडौँ, असोज १६। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको शुभ साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार विजयादशमीको शुभ साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

यस वर्षको बडादसैँ अर्थात् नवरात्राम्भ भने असोज २८ गते आइतबार हुनेछ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.