विकासका लागि राजनीतिक स्वार्थ त्याग्न पोखरेलको आग्रह

रिपोर्ट नेपाल | 2018 Oct 23 | 11:05 am 1654

तुलसीपुर, कात्तिक ६  : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि दलगत स्वार्थ भन्दा माथि उठेर सबैको साझा एजेण्डा हुनुपर्ने कुरामा जोड दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले दाङको विकासका लागि क्षेत्रीय र राजनीतिक स्वार्थ त्याग्नुपर्ने बताए ।

समग्र दाङको विकास कसरी गर्ने भन्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले दाङमा सिँचाइ र खानेपानीको समस्या रहेको भन्दै माडीको पानी दाङ ल्याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताए ।

कुइरेपानीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेन बनाउनका लागि काम अगाडि बढेको बताउँदै पोखरेलले तुलसीपुरमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिए ।

अन्तरकृयामा नगरप्रमुख घनश्याम पाण्डेले बृहत् गुरुयोजना निर्माण गरेर दाङको विकासमा लागि काम गर्न आग्रह गरे । सडक बजेटलाई खण्डखण्ड बनाएर विनियोजन गर्नुभन्दा पनि एकै ठाउँमा राखेर बृहत् सडक योजना बनाउनका लागि नगरप्रमुख पाण्डेले आग्रह गरे ।

कार्यक्रममा संविधानसभा सदस्य वुद्धिराम भण्डारी र पूर्व सांसद गेहेन्द्र गिरीले दाङलाई राजधानी बनाउनका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.