विकट र दुर्गम क्षेत्रमा नियमित स्वास्थ्य सेवा दिन गाउँपालिकामा पहिलो पटक डाक्टर

रिपोर्ट नेपाल | 2020 Dec 28 | 09:10 am 2029

म्याग्दी, पुस १३ः भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीकाे धौलागिरि गाउँपालिकामै नियमित बसेर स्वास्थ्य सेवा दिने गरी पहिलो पटक डाक्टर पुगेका छन् ।

गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुस ८ गतेदेखि लागू हुने गरी डा एकराज भण्डारीलाई नियुक्त गरिएको ताकमका वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिए ।

कोभिड अस्पताल सञ्चालन गर्नका लागि डाक्टरसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौं’, उनले भने, ‘छिट्टै कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ । अहिलेकै जनशक्तिलाई निरन्तरता दिएर नियमित अस्पताल सञ्चालन गर्ने योजना छ ।

नियमित बसेर सेवा दिने गरेर डाक्टर आएको पहिलो पटक भएको वडाध्यक्ष सुवेदीले बताए । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई वडाका जनप्रतिनिधि र ताकमका बासिन्दाले शुक्रबार बिहान स्वागत गरेका छन् । पहिलो पटक गाउँपालिकामा डाक्टर आएकोमा स्थानीयवासी खुशी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.