काठमाडौं १९ कार्तिक । भारतको उत्तर प्रदेशको आगरामा विमान दुर्घटनाग्रस्त भएको छ । रागारौल गाउँमा वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको हो ।
विमान खाली खेतमा खस्यो । खस्नासाथ आगलागी भएको थियो । विमानमा पाइलटसहित दुई जना सवार थिए । पञ्जाबको आदमपुर एयरबेसबाट उडान भरेको केही समयमै विमान आगरानजिक दुर्घटनाग्रस्त भएको हो ।
प्रारम्भिक विवरणअनुसार विमानमा रहेका पाइलट भने दुर्घटनाअघि नै ककपिटबाट इजेक्ट गरेर बाहिरिन सफल भएका थिए । दुर्घटनाको विस्तृत विवरण कारणबारे थप जानकारी आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुर्घटना विमानको प्राविधिक गडबडीका कारण भएको हुनसक्ने भारतीय अधिकारीहरूले अनुमान गरेका छन् । भारतीय वायुसेनाले दुर्घटनाको तुरुन्तै जाँच गर्न आदेश दिएको छ ।
पछिल्लो समय धेरै प्राविधिक समस्या देखिन थालेपछि भारतले यस विमानको प्रयोग कम गरिरहेको थियो ।