वाणिज्य विभागले तिरायो २५ लाख जरिवाना

रिपोर्ट नेपाल | 2023 Mar 20 | 07:47 am 1009

काठमाडौं, चैत ६ः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन महिनामा २८ व्यावसायिक फर्मबाट २५ लाख २० हजार रुपैयाँ जरिमाना असुल गरेको छ ।

उपभोक्ता संरक्षण ऐनविपरीत कार्य गर्ने होटल तथा रेस्टुरेन्ट, तरकारी तथा फलफूल, खाद्य वस्तु, मदिरा, अटोपार्टस्, रेडिमेट तथा थान कपडा, माछा मासु, फर्निचरलगायतका व्यावसायिक फर्मबाट विभागले कारबाहीस्वरूप जरिमाना तिराएको हो ।

विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार फागुन महिनाभर १ सय ९५ व्यावसायिक फर्ममा अनुगमन भएको थियो । तीमध्ये ऐनविपरीत कार्य गर्ने २८ फर्मलाई जरिमाना गरिएको हो । ‘१ सय ९५ फर्ममध्ये ९६ फर्महरू सामान्य अवस्थामा थिए ।

यसरी कारबाहीको प्रक्रिया अघि बढाएसँगै २८ लाई जरिमाना गर्दै ५३ व्यावसायिक फर्मको कागजात मागेर अध्ययन गरिरहेका जानकारी गराउँदै भट्टराईले भने, ‘४ फर्मलाई सुधार गर्न निर्देशन पनि दिएका छौं ।’

यस अवधिमा विभागले सबैभन्दा बढी होटल तथा रेस्टुरेन्ट व्यवसायबाट ७ लाख ७० हजार जरिमाना असुल गरेको जनाएको छ । गतफागुनमा पाँचवटा होटल तथा रेस्टुरेन्टलाई जरिमाना भएको छ ।

तीन खाद्य पसलबाट ५ लाख ५ हजार, २ मदिरा एवं सूर्तिजन्य पसलबाट ३ लाख ५ हजार, तीन तरकारी तथा फलफूल पसलबाट २० हजार जरिमाना असुल गरिएको विभागले जनाएको छ ।

त्यसैगरी, दुइटा अटोपार्टस् फर्मबाट २५ हजार, एक रेडिमेट तथा थान कपडा पसललाई १५ हजार, एकफर्निचर एन्ड फिक्चर्सबाट २० हजार, माछामासु पसलबाट ५ हजार जरिमाना असुल गरिएको भट्टराईले बताए । यीबाहेक अन्य क्षेत्रबाट पनि ८ लाख ३० हजार रुपैयाँ जरिमाना असुल गरेको विभागले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.