वाइडबडी जहाज खरीदमा भएको घोटाला छानबिन होस् : कांग्रेस

रिपोर्ट नेपाल | 2019 Jan 30 | 04:24 pm 1597

काठमाडौं,  माघ १६ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पार्टीको धारणा थप प्रष्ट पारेको छ । यही माघ २१ गते हुन गइरहेको सरकारविरुद्धको आन्दोलनका लागि तय गरिएका एजेण्डामा वाइडबडी प्रकरण नसमेटेको भन्दै आलोचना भएपछि कांग्रेसले थप प्रष्टीकरण दिएको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनको मुद्दामा ‘भ्रष्टाचार’ लाई विधिवत् ‘माइन्युट’ गरेर सार्वजनिक समेत गरिसकेको जानकारी गराउँदै प्रवक्ता शर्माले वाइडबडी जहाज खरीदमा भएको अर्बाैैंको घोटालाका बारे गम्भीर ढङ्गले छानबिन गर्न पार्टीले संसद्मा र सार्वजनिकरूपमा पनि आवाज उठाउँदै आएको स्पष्ट पारे ।

‘भ्रष्टाचारको एजेण्डामा विगतमा गरिएको निर्णयहरु जुन–जुन घोटालाहरुसँग सम्बन्धित छन्, ती सबै विषयहरु पर्छन् भन्ने प्रष्टोक्ति म यहाँ राख्न चाहन्छु,’’ उनले पत्रकार सम्मेलनमा भने, ‘‘केही मिडियामा वाइडबडीलाई लुकाइयो भनेर समाचार आएको छ । आजको पत्रकार सम्मेलनमा म तपाईंहरुलाई स्मरण गराउन चाहन्छु, केन्द्रीय कार्यसमितिको बैठकले प्रष्टसँग भ्रष्टाचारको मुद्दा लेखेको छ । उठाएको छ ।’’

वाइडबडी खरिदमा अर्बौ रुपैयाँ घोटाला भएको बारे कांग्रेसले गम्भीर ढंगले गहिरो छानविन गर्न संसद् र सार्वजनिक रुपमा प्रष्ट रुपमा उठाउँदै आएको दोहोर्याउँदै प्रवक्ता शर्माले वाइडबडी प्रकरणलाई सरकार, प्रतिपक्ष, संसद्, नागरिक समाज र मिडियाले गम्भीर ढंगले हेर्नुपर्नेमा जोड दिए ।

काङ्ग्रेसले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको भन्ने विवरण सञ्चारमाध्यममा आएको उल्लेख गर्दै यसबारेमा पार्टीलाई औपचारिक जानकारी नआएको बताए ।

काङ्ग्रेसले नेताद्वय कोइरालाका नाममा खुलेका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा पु¥याएको भन्दै यसअघि संघीय संसद् अवरुद्ध गर्दै आएको थियो । सरकार र सदनका केही काम कार्वाहीको विरोधमा यही माघ २१ गते राष्ट्रव्यापी विरोध प्रदर्शनको कार्यक्रम रहेको जानकारी गराउँदै उनले भने, ‘राष्ट्रव्यापी विरोध प्रदर्शनको सम्बन्धमा सबै जिल्लामा आवश्यक तयारी प्रारम्भ भइसकेको छ ।’

संसद्मा माघ ११ गते भएको घटना, डा. गोविन्द केसीको अनशनप्रति सरकारको संवेदनहीन व्यवहार, कोइरालद्वयका नामका अस्पताललाई नामेट गर्न गरेको दुष्प्रयास, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गरेको घटनालाई विरोधका मुख्य मुद्दा बनाइने उनले जानकारी दिए ।

प्रवक्ता शर्माले भने, ‘देशव्यापीरूपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सम्बन्धित पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दामा प्रदर्शन केन्द्रित हुनेछ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.