वर्ष दिनसम्म न हत्यारा पत्ता लाग्यो न अब न्याय पाउने आस नै छ

रिपोर्ट नेपाल | 2019 Jul 26 | 07:40 am 1742

काठमाडौं, साउन १०:  भीमदत्त नगरपालिका–२, उल्टाखाम कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् ।

वर्ष दिनसम्म न हत्यारा पत्ता लाग्यो न अब न्याय पाउने आस नै छ, पन्त परिवारको यो बिलौना निर्मलालाई गुमाउँदा जस्तो थियो अहिले पनि उस्तै छ । उनकी आमा दुर्गादेवी भन्छिन्, ‘न न्याय पाइयो, न अब आस नै छ ।’

१० साउन २०७५ मा साथीको घर जान भन्दै घरबाट हिडेकी निर्मलाको ११ गते बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । यसबीचमा हत्यारा पत्ता लगाउन सरकारबाट भएका हालसम्मका सबै प्रयास खेर गएको छ । तर, पनि सरकारले ढिलोचाँडो हत्यारालाई कानुनी कठघरामा ल्याउने दाबी गर्न भने छाडेको छैन ।

निर्मलाका बाबु यज्ञराज पन्तले छोरीको न्यायका लागि लड्दा लड्दै हारेको बताए । न्यायको पर्खाइमा बस्दा बस्दै आस मरिसक्यो, हामीले छोरी मागेका थिएनौं, न्याय मागेका हौं, राज्यले एक वर्षसम्म पनि न्याय दिन सकेन, मैले हारें, निर्मलाका बाबु यज्ञराजले  भने । उनले गृहमन्त्री रामबहादुर थापाको पछिल्लो अभिव्यक्तिले झनै निराश बनाएको बताए ।

अझै पनि झिनो आश त छ, न्याय पाइएलाकी भन्ने तर गृहमन्त्रीज्यूकै भनाइले राज्य नै हामीविरुद्ध लाग्यो जस्तो लाग्छ, अस्ति पनि गृहमन्त्रीले निराश पार्ने गरी बोल्नुभएछ, उनले थपे ।

यसबीचमा निर्मलाको हत्याको छानबिनका लागि करिब आधा दर्जन छानबिन समिति बनेका छन् । सबैजसो समितिले निर्मलाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ । यस्तै, ती प्रतिवेदनले प्रहरीबाट सुरुवाती चरणमा नै अनुसन्धानमा लापर्बाही भएको भन्दै निष्कर्षसमेत दिएका छन् । तर, हत्यामा संलग्नलाई भने कुनै पनि प्रतिवेदनले किटान गर्न सकेको छैन ।

हत्याको अनुसन्धानका लागि यसबीचको अवधिमा सरकारी तबरबाटै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ७ भदौ २०७५ मा पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो । प्रहरीका डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित सो समितिले स्थलगत अध्ययनपछि गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदनसमेत बुझाइसकेको छ । तर, सो प्रतिवेदन अहिलेसम्म अलपत्र छ ।

यसबाहेक पनि सो प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरू तयार भएका छन् । अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् ।

मैनाली समितिको प्रतिवेदनले निर्मलाको बलात्कारमा एक व्यक्ति मात्रै संलग्न रहेको नदेखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निचोड दिएको थियो ।

घटनाका विषयमा शंकामा रहेका दुई दर्जनभन्दा बढी शंकास्पद व्यक्तिको हालसम्म डीएनएसमेत जाँच भएको छ करिब एक दर्जन शंकास्पद व्यक्ति पक्राउ परेर पनि छुटिसकेका छन् । डीएनए परीक्षण गरिएका कसैको पनि नमुना निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबसँग मेल खाएको छैन ।

यसबीचमा हजारौं व्यक्तिको कल डिटेललाई समेत प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । सो समयमा घटनास्थल नजिकको नेटवर्कमा चलेका प्रायः सबै जसो फोनलाई प्रहरीले ट्र्याक गरिसकेको छ । तर, पनि वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन । आजकाे राजधानीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.