लोप बन्दै गुन्द्री र चकटी

| 2022 Dec 25 | 07:33 am 1913

दोलखा, पुस १०ः दोलखामा गुन्द्री तथा चकटी जस्ता घरायसी प्रयोगका समानको उत्पादन हुन छाडेपछि लोप हुन थालेका छन् ।

म्याटलगायत अन्य प्लास्टिकजन्य सामग्रीहरूको प्रयोग बढेसँगै जिल्लामा यस्ता सामानको उत्पादन हुन छाडेको सैलुङका ज्येष्ठ नागरिक रामप्रसाद श्रेष्ठले बताए । आयातित सामग्रीले गाउँघरमा उत्पादन हुने सामग्रीहरू हराउन लागेका छन् । यस्ता परम्परागत सीप र सामग्रीहरू लोप हुँदा पुरानो पुस्ता चिन्तित भएको उनको भनाइ रहेको छ ।

पहिले पहिले पाहुनाको सत्कारका लागि नयाँ गुन्द्री, सुकुल तथा चकटीको प्रयोग हुन्थ्यो । विवाह, व्रतबन्ध जस्ता सामाजिक संस्कारमा यसैको प्रयोग गरिन्थ्यो । भीमेश्वर नगरपालिका–७ की ज्ञानी भुजेलले भने, अहिले भने जताततै म्याट र प्लास्टिकका सामग्री पाउन थालेपछि सुकुल, गुन्द्री, चकटीजस्ता हातले बनेका घरायसी सामान हराएका छन् । एकातिर आयातित सामान आउनु अर्कातिर खेती गर्न छोडेकाले पराल नपाउनु पनि कारण हुन् ।

पुष्पा क्षमावतीका सम्झना थामीले भने, प्लास्टिक सामग्रीको सहज उपलब्धताका कारण नयाँ पुस्ताले यस्ता सामग्री देख्न नपाउने स्थिति भयो । त्यति बेला महिला दिदीबहिनीहरूले मकैको खोस्टा र पराल उपलब्ध हुने बित्तिकै चकटी, सुकुल, गुन्द्री बनाउन थाली हाल्थे । माग पनि राम्रै हुँदा कतिपयको घर खर्च चलाउने माध्यम पनि थियो । अहिले ती सबै सम्झनामा मात्र सीमित भएका छन् ।

नयाँ पुस्ताको लागि यो कथा बनेको छ । चकटी र गुन्द्रीमा बसेजस्तो आनन्द र फाइदा अहिलेका सामग्रीबाट नपाइने बिगु गाउँपालिका ओराङका मैँया बरालले बताए । स्थानीय उत्पादनको सट्टा विदेशी आयातित सामग्रीले गाउँघरको मौलिकता मासिँदै गएकाप्रति उनले चिन्ता व्यक्त गरिन् ।

मौलिक संस्कृति र सामग्रीको जगेर्ना गर्न नसक्दा नेपालीको पहिचान नै गुम्ने खतरा बढेकाले यसमा सबैको ध्यान जान जरुरी रहेको बरालको भनाइ रहेको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.