काठमाडौं, असार १५ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासन बिना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षण कार्यक्रममा मन्त्री डा. महतले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने काम नेपाली कांग्रेसले गरेको हो । यस विषयमा नेपाली कांग्रेस चट्टानझै नउभिएको भए अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान सम्भव थिएन । यो सन्देश सशक्त ढंगबाट आम जनमानसमा लैजान जरुरी छ ।’
‘प्रशिक्षणले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति, यसको इतिहास र संगठनलाई कसरी विस्तार गर्ने, आम आदिवासी जनतालाई नेपाली कांग्रेससँग कसरी र किन जोड्नेबारे प्रशिक्षण कार्यक्रममा योगदान रहनेछ ।’ डा. महतकाे भनाइ थियाे ।
नेपाली कांग्रेसले समावेशितालाई नेपालको राजनीतिमा प्रवेश गराएको हो, उनले भने, ‘नेपाली कांग्रेसको विधानमा महिला, आदिवासी, जनजाति, मधेश, दलित र कर्णालीलाई समावेशिता सिद्धान्तको हिसाबले पार्टी संरचनामा आरक्षण सुनिश्चित गरेको हो । अरु दल पनि यो बाटोमा हिड्ने परिवेश बन्यो ।’
‘जनजातिभित्र विविध आदिवासी जनजाति जोडिएका छन् । जनजातिसँग जोडिएको संस्कृति, सभ्यता र रितिरिवाजले नेपाललाई समृद्ध बनाएको छ । पूर्वका राई, लिम्बु सुनवार, तराईका सतार, राजवंशी, बागमतिका तामाङ शेर्पा, उपत्यकाका नेवार समुदाय बिना नेपाल पूर्ण हुँदैन’, उनले भने, ‘नेपाली कांग्रेसले यसलाई पूर्णरुपमा अंगिकार गरेको छ । आदिवासी जनजातिको सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरण र सहभागिता नेपाली कांग्रेसको मूलमन्त्र भएको कसैले बिर्सन नहुने बताएका छन् । यो सन्देश हामीले आम आदिवासीका बीचमा लिएर जानुपर्छ ।’
डा. महतले, ‘हाम्रो नीति सिद्धान्त, कार्यक्रम, हामीले गरेको काम, गरिरहेको काम र गर्ने काम सशक्त ढंगले आम जनतामाँझ लैजान नसक्नु नेपाली कांग्रेसको कमजोरी भएको बताएका छन् । उनले भने, ‘हामी व्यक्ति आलोचनमा बढी समय खर्च गछौं । गहिराइमा पुगेर अध्ययन नगरेका विषय सामाजिक सञ्जालमा राख्दा त्यसले हानी गर्छ ।’
पार्टीको निर्णय ग्रहण गर्न नसक्नु कांग्रेस नेतृत्वको अर्को कमजोरी भएको भन्दै उनले भने, ‘यसले जनता अलमलमा परेका छन्, यो अन्योलता चिर्नुपर्छ ।’