धादिङ, मंसिर १८: बेनिघाट बजार स्थित बेनिघाट रोराङ गाउंपालिका वार्ड नं ५ को सभाहलमा बुधबार बिहान एक कार्यक्रमबीच पालिका स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ ।

“समानताको पुस्ताः बलात्कार बिरुद्धको प्रतिबद्धता” भन्ने यस बर्षको मूल नारा सहित प्रत्येक वर्ष नोभेम्बर २५ देखि दिसेम्बर १० सम्म अन्तराष्ट्रिय अभियानका रुपमा विश्वभरि नै लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने कार्यक्रम अन्तरगत स्थानीय सरकार प्रमुख बेनिघाटमा सम्पन्न भएको हो ।
कार्यक्रम रोराङ गाउँपालिकाका अध्यक्ष्य पित्त बहादुर डल्लाकोटीको प्रमुख आतिथ्यता तथा ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेको अध्यक्ष्यता एवं वडा नं ५ का वडा अध्यक्ष्य रोशन सिलवालको बिशिष्ट आतिथ्यतामा सो गठन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमले लैङिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा सञ्चालन कार्यविधि २०७५ बमोजिम ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेको अध्यक्ष्यतामा विभिन्न समुदाय, संस्था र स्थानीय नागरिक समाजबाट समेत प्रतिनिधित्व रहने गरी १४ सदस्यीय पालिका स्तरीय लैंङिक हिंसा नियन्त्रण सञ्जाल समिति बेनिघाट रोराङ गठन गरेको छ ।

लैंङिक हिंसाबाट पीडित भएकाहरुलाई तत्काल उद्धार गर्न, प्रभावितको अधिकारको संरक्षण गर्न, सल्लाह दिन, मनोसामाजिक सहयोग प्रदान गर्न, उपचार गर्न, राहत प्रदान गर्न तथा गाउँपालिकासंग समन्वय गरी स्थानीय श्रोतको पहिचान तथा परिचालन गर्ने तथा आवश्यकता पहिचान र प्राथिमिकिकरणको आधारमा लैंङिक हिंसा न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, र्याली, सडक नाटक लगायतका कार्यक्रमहरु संचालन गर्ने कार्यविधिमा स्पष्ट उल्लेख रहेको छ ।
समिति गठन भए पश्चात बसेको उक्त समितिको पहिलो बैठकले र यही मंसिर २३ गते बेनिघाट रोराङ गाउँपालिकाको विकट बस्ती ईलाका सिमटारमा लैंङिक हिंसा नियन्त्रण सम्बन्धी चेतनामुलक प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
यस अघि भएको कार्यक्रममा प्रमुख अतिथि स्थानीय सरकार प्रमुख पित्त बहादुर डल्लाकोटीले समितिलाई १ महिनाको तलब बराबरको रकम हस्तान्तरण गर्ने उद्घोष गर्दै बेनिघाट रोराङ गाउँपालिकाबाट हिंसा निर्मुलीकरण गर्ने यस अभियानमा समितिलाई साथ दिने पुर्ण प्रतिबद्धतता ब्यक्त गरेका थिए ।

त्यस पश्चात विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट सहयोग प्रदान भई संयोजक र कोषाध्यक्ष्यको संयुक्त खाता रहने गरी रहेको कोषमा लैंङिक हिंसाबाट पीडित भएकाहरुको सहयोगमा खर्च गर्ने गरी रु ५७ हजार रकम जम्मा भएको थियो ।
बेनिघाट रोराङ गाउँपालिकाको विभिन्न स्थानमा बसोबास गर्ने बासिन्दाहरु र संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन नवगठित सञ्जालकी कोषाध्यक्ष्य संगीता कंडेलले गरेकी थिइन् ।