लेनदेनमा संसदीय समिति

| 2023 Aug 28 | 06:44 am 1921

काठमाडौँ, भदौ ११। प्रतिनिधिसभा निर्वाचनको नौ महिनापछि पूर्णता पाउन लागेको संसदीय समिति बाँडफाँटमा सत्ता साझेदार दल र प्रमुख विपक्षी एकठाउँमा उभिएका छन् । प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी संसदीय समितिमा हाबी हुँदा नौवटा समिति सभापति निर्विरोध भइसकेका छन् । यी नौवटा समिति सभापतिमा पाँचौं ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘सर्तसहित’ एउटा समितिको नेतृत्व पाउँदा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने कुनै पनि समितिमा नेतृत्व लिन सकेन ।

यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा समिति सभापतिका लागि उम्मेदवार उठाएको छ । आज (सोमबार) हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्वाचनमा रास्वपाका उम्मेदवार गणेश पराजुलीले जनमत पार्टीका अब्दुल खानसँग प्रतिस्पर्धा गर्नेछन् । जनमत पार्टी सरकारमा सहभागी भएको दल भएका कारण रास्वपाले जित्ने सम्भावना न्यून छ । पराजित भएको अवस्थामा संसदीय समितिको नेतृत्वमा रास्वपाको कुनै सहभागिता हुनेछैन ।

उता, पूर्वाधार विकास समितिमा राप्रपाका दीपक सिंह निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध निर्वाचित भए पनि कसैलाई पनि विजयी घोषणा गरिएको छैन । आइतबार उम्मेदवारी दर्ता भएको र आज (सोमबार) मात्रै निर्वाचित भएको घोषणा गरिनेछ ।

राप्रपाका सिंह पूर्वाधार विकास समितिको सभापतिमा निर्विरोध भएको घटनाले भने सबैको ध्यान तानेको छ । यसअघि पूर्वाधार विकास समितिको नेतृत्व माओवादी केन्द्रले पाउने सहमति प्रमुख दलहरूबिच भएको थियो । माओवादी केन्द्रले माधव सापकोटालाई सभापति उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो । तर, कोशी प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गर्ने सर्तसहित सो समितिको सभापति राप्रपालाई दिन माओवादी सहमत भएको चर्चा चलेपछि यसले सबैको ध्यान तानेको हो । कोशी प्रदेशमा राप्रपाले सघाउने र आफूहरूले सो समितिको सभापतिमा सघाउने सहमति भएको सापकोटाले बताइसकेका छन् । प्रमुख दलहरूबिच समिति सभापतिहरूको भागबन्डा गर्दा रास्वपा र राप्रपालाई छुट्ट्याएका थिएनन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपातर्फ संकेत गर्दै कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बांगाको बांगै भन्दै टिप्पणी गरिसकेका छन् । यसले पनि राप्रपाभित्र विवाद बढ्ने संकेत गर्छ ।

‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बांगाको बांगैं ! थोरै अपवादलाई छोडेर, कोही–कोही सुध्रिनेवाला छैन,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

मिश्रले आफूले २० वर्ष पत्रकारिता र परोपकारमा संलग्न हुँदाभन्दा राजनीति सुरु गरेपछिका वर्षमा बढी मुलुकको समाज र राजनीतिलाई चिनेको पनि लेखेका छन् । ‘विश्वास गर्नोस्, यो देश र भावी पुस्ताको माया (माथि भनिए झैं थोरै अपवादलाई छोडेर) कुनै राजनीतिकर्मीलाई छैन,’ उनले लेखेका छन्, ‘भावी पुस्ता सम्झेर मन काटिन्छ तर गरिहाल्नसक्ने केही छैन !’

प्रतिनिधिसभाको गत बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटै विषयगत समिति सभापतिको निर्वाचन आज (सोमबार) दिउँसो ३ बजेका लागि निर्धारण गरेबमोजिम निर्वाचन प्रक्रिया अघि बढेको हो । १० मध्ये ९ समितिका सभापतिका लागि एकल उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लगायत प्रमुख राजनीतिक दलबिच भएको भागबन्डाका आधारमा समितिको सभापतिका लागि उम्मेदवारी परेको हो ।

संसदीय सुनुवाइ समिति (संयुक्त)मा कांग्रेसका सांसद जीवन परियारको उम्मेदवारी छ । अर्थ समितिमा कांग्रेसका सांसद सन्तोष चालिसे, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवं सांसद आरजु राणाको उम्मेदवारी परेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका सांसद रामहरि खतिवडा, सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह एवं कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी बिमला सुवेदीको उम्मेदवारी परेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जसपाका राजकिशोर यादव र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीको उम्मेदवारी परेको संसद् सचिवालयले जनाएको छ ।

यी समितिबाहेक एमालेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को सभापति पाउनेछ ।

(राजधानीबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.