काठमाडौँ १२ भदौ / लुम्बिनी प्रदेशका मुख्यन्यायाधिवक्ता यमलाल खनालले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको उपस्थितिमा प्रदेश प्रमुखको बुटवलस्थित कार्यालयमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले खनाललाई बुधबार शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मुख्य न्यायाधिवक्ता काम, कर्तव्य¸अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथ ग्रहण गराइएको हो । मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बुटवल निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।