‘लिफ्ट’बाट गाउँमा खानेपानी

रिपोर्ट नेपाल | 2018 Jun 11 | 01:02 pm 3063

बागलुङ, जेठ २८ जेठ: गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पुर्याकाे छ ।

तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो । रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी आयोजनाबाट ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

पानीको स्रोत बस्तीदेखि तल हुँदा स्थानीयवासी खानेपानीको सहज पहुँचबाट वञ्चित थिए । धेरै समय खर्चेर र पालो कुरेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष रिमबहादुर राना कुमालले बताए ।

“खानेपानीका लागि ठूलो दुःख थियो”, उनले भने, “आयोजना बनेपछि गाउँले खुशी छन् ।” गलकोट नगरपालिकाको रु दुई लाख र उपभोक्ताको चन्दा तथा श्रमदानबाट रु डेढ लाख गरी कूल रु तीन लाख ५० हजारको लागतमा आयोजना बनेको हो ।

पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिले पनि रु १० हजार चन्दा सहयोग गरेको थियो । मूलबाट तानेको पानीलाई जम्मा गर्न १९ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ ।

कुमाल बस्तीमा चौबीसै घण्टा खानेपानीको सुविधा पुगेको वडाध्यक्ष डम्बर श्रीसले बताए । आयोजना निर्माणका लागि वडा तहबाटै योजना सिफारिस भएको थियो । “वार्डले समस्या पहिचान गरी तत्काल आयोजना बनाउन पहल गरेको हो”, अध्यक्ष श्रीसले भने ।

नगरपालिका, वडा र उपभोक्ताको संयुक्त लगानी र पहलमा आयोजना सम्पन्न भएको हो । खानेपानी पुगेसँगै स्थानीयवासीलाई अन्य आयआर्जनका गतिविधिमा जोड्ने योजना रहेको वडाध्यक्ष श्रीसले बताए ।

बस्तीदेखि तल स्रोत भएका ठाउँमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना प्रभावकारी देखिएको छ । जिल्लाका अन्य ठाउँमा पनि यस्ता आयोजनाबाट खानेपानीको सुविधा पुर्याइएकाे छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.