लामो समय प्रेम सम्बन्धपछि विवाह, सुहागरातको बिहान बेहुलाको मृत्यु !

रिपोर्ट नेपाल | 2018 Jun 15 | 07:20 pm 2936

रुपन्देही, असार १ : रुपन्देहीमा केही दिन अघि एक युवा जबरजस्ती विवाह गरेका थिए । विवाह गरेकोे अर्को दिन बिहान उनी मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–७ अमुवा हिरागञ्जका ३२ वर्षीय कर्णबहादुर बुढाथोकीलाई स्थानीय अन्दाजी ३२ वर्षीया रुकमणी खवाससँग माया प्रेम रहेको भन्दै उनको समुदायले जेठ–२४ गते विवाह गराइदिएका थिए । सो विवाहलाई मृतक बुढाथोकीका परिवारजनले जबरजस्ती भनेका छन् ।

लामो समयदेखि उनीहरूबिच प्रेम सम्बन्ध रहेको भन्दै ती युवतीका परिवारजनले बुढाथोकीले विवाह नगरे ज्यान मार्ने सम्मको धम्की दिई जबरजस्ती विवाह गराई दिएको बुढाथोकीका आफन्त नैनबहादुर लोकचनले बताए । ‘केटा र उनका परिवारले उनलाई विवाह गर्नै मानेका थिएनन्’– उनले भने–‘ केटी पक्षको ठुलो जमात आई ज्यान मार्नेसम्मको धम्की दिएपछि विवाह गर्न बाध्य भएका थिए ।’

जबरजस्ती विवाह भएका कारण त्यस रात घरमा बस्न नचाहेर बुटवलको दोस्ती रेस्टुरेन्ट एण्ड लजमा उनीहरू दुवै जना बस्न गएका थिए । त्यस लजका सञ्चालक किरण पाण्डेसँग सम्पर्क राख्दा उनले भने–‘उनीहरू त्यस्तै साँझ ६ बजेतिर आएका थिए । १०८ नम्बर रुम बुक गरेका थिए । उनीहरूसँग एक महिलासहित ८, ९ जना मानिसहरू पनि आएका थिए । अरू मानिसहरू राती साढे दश बजेसम्म मादक पदार्थ सेवन गर्दै बसेका थिए । केही विवाद जस्तो पनि पाईन्थ्यो तर हामी त्यता पट्टि लागेनौ । उनीहरू सबै जना राती हिँडेपछि उनीहरू दुई जना त्यस रुम सुत्न गएका थिए ।’

त्यस्तै उनले थपे, ‘बिहान त्यस्तै साढे ६ बजेतिर उनीहरू दुवै जना कोठाबाट निस्केर ढोका खोल्न लगाए । हाम्रो स्टाफले ढोका खोलेपछि नवदुलही सामान किन्न भन्दै बाहिर निस्किन । त्यसपछि बेहुला कोठा भित्र गए । उनी करिब २० मिनेटमा फर्किइन् । कोठामा जाँदा चुक्कुल लगाएको देखेपछि स्टाफलाई बोलाएर ढोका हानेर खोल्दा उनी झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई फोन हानेर बोलाएका हौँ ।’

मृतक बुढाथोकीका परिवारजन उनको मृत्युलाई रहश्यमय भन्दै छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् । झुन्डिएको कोठाको ढोका खोल्दा चुक्कुल अडाउने किलाहरू नभाँचिनु, सेतो तन्नाको डोरी बनाएर पङ्खाको उपमा नभई त्यसको पातामा डोरी थियो भनिनु, मृतकका परिवारजनलाई पहिला थाहा नदिई केटी पक्षका मानिसहरूलाई बोलाई शव उठाउनु, लुम्बिनी अञ्चल अस्पतालमा शव पुराएपछि करिब डेढ घण्टा पछि मात्र आफूहरूलाई खबर गरिनुले उनको मृत्युको घटना रहश्यमय रहेको मृतकका परिवाजनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.