लागूऔषध मुद्दाका फरार २ जना ४ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 10 | 08:56 pm 2052

तनहुँ, साउन २६ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा लागूऔषध मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं ५ चापाघाट बस्ने ३० वर्षीय राम बहादुर थापा र २३ वर्षीय गोबिन्द थापा रहेका छन् ।

उनीहरु उपर तनहुँ जिल्ला अदालतको मिति २०७३ मंसिर ५ गतेको फैसला उपर तोकिएको कैद मध्ये दुबैजना ५ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो ।

खोजतालस गर्ने क्रममा मिति २०७७ साउन २५ गते राती घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँमा पठाएको प्रहरीले जनाएको छ ।

माक्स प्रयोग नगर्ने ४६ जना कारवाही

हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम तनहुँ जिल्लाबासी जनताहरुमा सचेतना जगाउदै आएको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएकोले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागी प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा कारबाही गरेको हो ।

सोमबार ४६ जनालाई प्रतिव्यक्ति १ सयका दरले जरिवाना गरी उनीहरुलाई माक्स समेत बितरण गरी कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डको बारेमा जानकारी समेत दिईएको जिप्रका तनहुँले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.