काठमाडौं, साउन ६ । विगत केही वर्षदेखी ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई कारवाही गर्न थाले पछि अहिले गाँजा सेवन गर्ने चालकको संख्या वृद्धि भएको छ । सर्वसाधारण लगायत यात्रुहरुले चालकले मादक पदार्थको साटो लागु पदार्थ सेवन गरेर सवारी चलाएको गुनासो गरेपछि ट्राफिक प्रहरी यतिखेर लापसे चेकिङमा सक्रिय भएर लागिपरेको छ । यसैक्रममा काठमाडौंको नागढुंगामा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेहरुमा ना४ख ७१५० नम्बरका ट्रक चालक काठमाडौँको नागार्जुन नगरपालिका ५ का ३२ वर्षीय मनोज श्रेष्ठ, ना३ख ४९६१ नम्बरका ट्रक चालक पर्साको वीरगंज महानगरपालिका १७ का २४ वर्षीय रोशन कुमार पटेल, बागमती प्रदेश ०३-००१ख २२९६ नम्बरका ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का ३० वर्षीय राम कुमार श्रेष्ठ र बा३ख ७९०५ नम्बरका हाइस चालक पाल्पाको पिपलडाँडाका ३५ वर्षीय हरी बहादुर चिडि रहेका छन् ।
नियन्त्रणमा लिइएका चारैजनालाई आवश्यक अनुसन्धान गरी कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।