लागुपदार्थ सेवन गरी गाडी कुदाउने चालक संख्या बढ्दो क्रममा

| 2023 Dec 10 | 02:52 pm 465

काठमाडौँ, मंसिर २४ – लागुपदार्थ सेवन गरेर गाडी चलाउने सात जना प्रहरीको फन्दामा परेका छन् । राजधानी प्रवेशको मुख्य नाका नागढुंगामा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा लापसे गरेका चालकहरू पक्राउ परेका हुन् । चालकहरूले गाँजा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ ।

बा४ख ५५१५ नम्बरका बसचालक धादिङको निलकण्ठ नगरपालिका-३ का ३५ वर्षीय रमेशराम शाक्य, ना८ख ८४९४ नम्बरका बसचालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ घर भएका ३२ वर्षीय विक्रम विष्ट, ग१ख २५३१ नम्बरका हाइसचालक चितवन घर भएका ३७ वर्षीय डिल्लीराम काफ्ले र ग१ज  ८०९८ नम्बरका ट्याक्सीचालक तनहुँको भानु नगरपालिका १ का २१ वर्षीय राजु गोतामेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै, प्रदेश १–०२– ००१ख ९३८२ नम्बरका ट्रकचालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २८ वर्षीय प्रवीण स्याङ्तान, बागमती प्रदेश ०१–०२६ च ८९८४ नम्बरका पिकअप चालक सिन्धुलीको तीनपाटन गाउँपालिका १ का २४ वर्षीय छविलाल दमाई (परियार) र बागमती प्रदेश ०१–०२५च ७९७ नम्बरका पिकअप चालक उदयपुरको कटारी नगरपालिका–९ का २४ वर्षीय रामकुमार खत्रीलाई पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

 

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गरिदिन अनुरोध गरिएको छ ।

सवारीसाधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टिएचसी किटको प्रयोग गरेर गत २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच गर्दै आएको ट्राफिक प्रहरी प्रवक्ता एसएसपी भट्टले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.