लागुऔषधविरुद्ध प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल | 2018 Jul 28 | 05:18 pm 5156

पाल्पा, साउन १२ : ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले नेपाली समाजको प्रमुख विकृती, विसंगतीका रुपमा रहेको लागु औषधलाई समाजबाट निमिट्यान्न पार्ने लक्ष्य राखी अभियान थालेको छ ।

यो कार्यलाई लक्ष्यमा पुर्‍याउनको लागि युवा लक्षित कार्यक्रमहरुको आयोजना गर्नु बाञ्छनीय भएकोले  रामपुर नगरपालिकामा रहेको रामपुर युवा क्लव लगायतका विभिन्न आठ वटा क्लवमा आबद्ध १ सय युवाहरुलाई रामपुर नगरपालिकाको हलमा लागु औषध दुर्व्यसन बिरुद्ध प्रशिक्षण कार्यक्रमको आयोजना गरि आज शनिबार प्रशिक्षण दिएका छन् ।

उक्त कार्यक्रममा रामपुर नगरपालिकामा रहेका विभिन्न क्लवमा आबद्ध युवाहरुलाई लागु औषध भनेको के हो ? व्यक्ति,समाज , राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ  ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यस्तो कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्न सकिन्छ ? साथै लागुऔषधको सेवन, बिक्रि बितरण तथा ओसारपसार गर्नेलाई नेपालमा प्रचलित कानूनले के कस्तो सजायंको व्यवस्था गरेको छ ? आदि बिषयहरुमा केन्द्रित रहि करिब डेढ घण्टा सम्म प्रशिक्षण दिइएको थियो।

ईलाका प्रहरी कार्यालय रामपुरद्वारा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए। साथै युथ युनियन क्लव मटेरीका सचिव दया ओस्तीले लागुऔषधको कुलतबाट कसरी छुटकरा पाउन सकिन्छ भन्ने आफ्नो अनुभव सहितको भनाई राखेका थिए ।

प्रशिक्षण कार्यक्रमको अन्त्यमा रामपुर नगरपालिका ५ का वडाध्यक्ष हिमाल मल्लले कार्यक्रमको औचित्यताको बारेमा संक्षिप्त भनाई राख्दै कार्यक्रम समापन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.