ललिता निवास प्रकरणमा सीआईबीलाई जवाफ दिएपछि बाबुरामले भने- कर्तव्य निर्वाह गरेको छु, मुद्दा सफल टुंगोमा पुग्नेछ

| 2023 Aug 21 | 11:57 am 1109

काठमाडौँ, भदौ ४। ललिता निवास जग्गा हिनामिना प्रकरणमा नाम मुछिएपछि तत्कालीन प्नधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जवाफ दिएका छन्।

नेता भट्टराईले आफ्नो मन्त्रिपरिषदले गरेका निर्णयका सम्बन्धमा विभिन्न प्रश्नहरू उठेपछि सत्यतथ्यबारे सीआईबीलाई जानकारी गराएको बताएका छन्।

सीआईबीलाई आफूले दिएको जानकारी गराउँदै डा.भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु।’

उनले यो मुद्दा सफल टुंगोमा पुगेर सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न दरो कोसेढुंगा  सावित हुने विश्वास व्यक्त गरेका छन्।

‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु,’भट्टराई लेलेखेका छन्।

डा.भट्टराईले आइतबार साँझ सीआईबीका अधिकारीहरूलाई घरमै बोलाएर आफूबारे उठेका प्रश्नहरूको जवाफ दिएको  भट्टराईको सचिवालयले जनाएको छ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र  भट्टराईविरुद्ध साढे चार वर्षअघि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। उक्त मुद्दा पटक पटक पेसीमा चढे पनि सुनुवाइ भने भएको छैन।(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.