अर्घाखाँची, असार ५ः भीर र भवनबाट लडेर अर्घाखाँचीकाे छुट्टाछुट्टै स्थानका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर २ भलायडाँडा निवासी ५५ वर्षीय बसन्त कुमाल र मालारानी गाउँपालिका ५ आरुखोला निवासी ४९ वर्षीय मनबहादुर खत्री रहेका छन् ।
खत्रीकाे घर नजिकै खेतमा रोपाइँ गरी फर्कने क्रममा आरुखोलामा बाटोदेखि अन्दाजी ५० मिटर तल खस्न गई घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस्तै कुमालकाे क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा लडेर घाइते भएका थिए। उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।