काठमाडौं, साउन १०: चर्चित जनवादी गायिका लक्ष्मी गुरुङ प्रादेशिक पुरस्कारबाट सम्मान भएकी छन् । तीन नम्बर प्रादेशिक पुरस्कारबाट सम्मानीत गायिका सुन्दर स्वरकी धनी भएकै कारण छनौटमा परेकी हुन् ।

हरेक वर्ष सरकारले सातै प्रदेशका संस्कृति, संगीत तथा नाट्य क्षेत्रका उत्कृष्ट प्रतिभालाई पुरस्कृत गर्दै आएको छ । २०५६ सालदेखि माओवादी जनयुद्धमा लागेकी गुरुङले २०५७ सालदेखि जनवादी गीत गाउँन सुरु गरेकी हुन् ।

धेरै पटक मृत्युको मुखबाट जोगिदै जनताको पीर मार्का र कम्युनिस्ट आन्दोलनका गीत गाउँदै आएकी लक्ष्मीले यस अघि पनि थुप्रै पुरस्कारबाट सम्मानीत भएकी छन् । ८ वर्ष भूमिगत जीवन विताएकी लक्ष्मी थुप्रै सांस्कृतिक संघसंस्थामा आबद्ध छिन् ।

सिन्धुली जिल्लामा जन्मिएर देशका कुना कन्दरामा सांगीतिक कोसेली पस्कदै हिडेकी गुरुङ निम सांस्कृतिक परिवार, शैलुन सांस्कृतिक परिवारको सदस्य हुन् ।

हाल नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा सकृय भएर गिरफ्तारमा परेका माइला लामा कमिसार रहेको सगरमाथा सांस्कृतिक पलाटुन र सगरमाथा सांस्कृतिक पलाटुनको सहकमिसारको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी लक्ष्मी मजदुर सांस्कृतिक पारिवारको इन्चार्जकाे समेत भूमिका निर्वाह गरिसकेकी छन् ।

आफ्नो कलकलाउँदो जवानीलाई भुसुक्कै बिर्सिएर जनताको गीत गाउँदै पहाडका उकाली ओराली र तराइका समथर जमिनमा हिडेकी लक्ष्मीलाई दिइएको यो पुरस्कार उनको निरन्तरताको फल हो । अहोरात्र गीत संगीतमै रमाउन चाहाने गुरुङले यो पुरस्कारले थप ऊर्जा र हौसला बढाएको बताउँछिन् ।

पुरस्कारका लागि छनौट भएको थाहा पाउनासाथ हिजो आफ्ना साथीहरुले शहादत प्राप्त गरेको झलझली सम्झिएको बताउँछिन् । गायन यात्राको १९ वर्षे अनुभवमा थुप्रैथुप्रै आरोह अवरोहसँग लड्दै संगीत क्षेत्रमा रमाएकी लक्ष्मीको सही मूल्याङ्कन भएको बताइन्छ ।


