काठमाडौं, बैशाख ८ः विश्वभर महामारीको रुपमा फैलिरहेको काेराेना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभर लकडाउन गरेको छ ।
कोरोना संक्रमण फैलिन नदिनका लागि लकडाउन देश र देशबासीका लागि सकारात्मक भएतापनि ज्यालादारी गर्ने र न्यून आए भएकाहरु यसको चरम मारमा परेका छन् ।

यसै समस्यालाई मध्यनजर गर्दै मानव अधिकारका लागि महिला, एकल महिला समूह र बूढानीलकण्ड नगरपालिकाले संयुक्त रुपमा न्यून आए भएका र ज्यालादारी गरेर जीवन चलाउँदै आएकाहरुलाई भोजन गराउँदै आएको छ ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ स्थित एकल महिला भवन (छहारी भवन)मा लकडाउन अवधिभर बैशाख ४ गतेदेखि दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म निःशूल्क भोजनको व्यवस्था गराउँदै आएको छ ।
जसको लागि बूढानिलकण्ठ नगपालिका क्षेत्रका विपन्न, गरीब तथा ज्यालादारी गर्दै आएकाहरुले सम्बन्धित वडामा आफ्नो नाम टिपाउन सक्नेछन् ।
सामाजिक दूरी कायम गरी सुरक्षा विधि अपनाएर उक्त भवनमा निःशूल्क भोजनको व्यवस्था गरिएकाे छ । साथै, आवश्यक परेमा क्वारेन्टाइनको व्यवस्था पनि गरिएको छ ।