लकडाउनपछि बालविवाह बढ्यो

| 2020 Nov 17 | 10:19 am 2505

कैलाली, मंसिर २ः कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन् । छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनी म्यासेज गरे । म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्, बालिकाकी आमा दिव्या शर्माले भनिन्, मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन् । इज्जत फालिसकेकी छोरी ल्याउनु हुन्न भने ।

लामो समय विद्यालय बन्द भएपछि छोरीले विवाह गरेको दिव्याको भनाइ छ । ‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ, दिव्याले भनिन्, त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिछ ।

कोरोना महामारीका कारण धेरैजसो विद्यालय गएको चैतदेखि नै बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा शुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको प्रहरीको तथ्याङ्क छ ।

कैलालीको टीकापुर नगरपालिकाको बटनपुरस्थित त्रिभुवन माविका शिक्षक आशा कठरिया बालविवाह बढिरहेको बताउछन । लकडाउनपछि बालविवाह बढेको छ । बालविवाह गरेका धेरै किशोरी गर्भवती भएकाले उनीहरुको पढाइमा बाधा पुग्छ, कठरिया भन्छन्, हाम्रै विद्यालयमा हरेक वर्ष कम उमेरमै विवाह गरेका कम्तीमा पाँच जनाले विद्यालय छाड्छन् ।

गत चैतबाट विद्यालय बन्द भएपछि कम उमेरमा विवाह गर्ने विद्यार्थी अझ बढेको हुनसक्ने चिन्ता उनलाई छ । हामीले विद्यालयको कक्षामा बालविवाहबारे धेरै छलफल गर्छौँ, बालविवाहका असरबारे सचेत गराइन्छ, कठरिया भन्छन्, तर पनि बालविवाह रोक्न सकिएको छैन । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.