रोहितकुमार पौडेल बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

रिपोर्ट नेपाल | 2022 Nov 12 | 07:47 am 217

काठमाडौं, कात्तिक २६: रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो । बलात्कार आरोप लागेपछि सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो ।

नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो । रोहितले नेपालको यू–१९ उमेर समूहको कप्तानी गरेका थिए ।

क्यानले गत मंसिरमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासनको कारवाही गर्दै सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो। सन्दीप लामिछाने पनि नाबालिकमाथि बलात्कारको आरोप लागेपछि हाल पूर्पक्षका लागि थुनामा छन्।

उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीसमेत हुन् । गत चैतमा सम्पन्न पपुवा न्यु गिनीविरुद्धको एकदिवसीय शृंखलामा रोहितले पारस खड्काको रेकर्ड तोडेका थिए । रोहित १०७ बलमा ७ चौका र ४ छक्कासहित १२६ रन बनाएर आउट भएका थिए ।

रोहितले सन् २०१८ मा नेदरल्यान्डसविरुद्धको एकदिवसीय खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । १५ वर्ष ३३५ दिनको उमेरमा राष्ट्रिय टिमबाट खेलेका उनी एकदिवसीय खेलमा डेब्यु गर्ने चौथो कम उमेरका खेलाडीसमेत हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडी पाकिस्तानका हसन राजा हुन् । उनले सन् १९९६ मा १४ वर्ष २ सय ३३ दिनको उमेरमा जिम्बाब्वेविरुद्ध डेब्यू गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.