टीकापुर, २७ असोज : लम्की चुहा नगरपालिका–१ भुरुवाका धिरेन्द्र थापाले श्रीमतीको कुटेर हत्या गरेका छन् । थापाको कुटाइ सख्त घाइते भएकी ३१ वर्षीया श्रीमती जानकी थापाको आइतबार मृत्यु भएको हो ।
रोजगारीको लागि भारतमा रहेका थापा दशैं मनाउन गत असोज २१ गते घर फर्केका थिए । घर फर्केकै दिन श्रीमतीलाई पर पुरुषसँग भेटेपछि धिरेन्द्रले कुटपिट गरेका थिए ।
२४ गते मात्रै घटनाको विषयमा प्रहरीलाई जानकारी भएपछि घाइते जानकीलाई प्रहरीको सहयोगमा नेपालगञ्जमा उपचारका लागि पठाइएको थियो ।
नेपालगञ्जबाट उपचार गराएर घर फर्केकी उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो । अवस्था थप जटिल बन्दै गएपछि पुनः उपचारका लागि लम्कीस्थित अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँबाट पनि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा आइतबार दिउँसो जानकीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जानकीका श्रीमान धिरेन्द्रलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।