रोजगारीकालागि ‘च्यालेन्ज फण्ड’, सर्टिफिकेट धितो राखी ७ लाख ऋण पाइने

रिपोर्ट नेपाल | 2018 May 29 | 11:00 am 3679

काठमाडौं, जेठ १५: अर्थमन्‍त्री डा युवराज खतिवडाले आगामी वर्षको आयव्ययको विवरण प्रस्तुत गर्दै मुलुकमा व्याप्त बेरोजगारीलार्इ हटाउन ‘च्यालेन्ज फण्ड’ स्थापना गरिने बताएका छन् ।

मंगलबार संघिय संसदको संयुक्त बैठकलार्इ सम्बोधन गर्दै अर्थमन्‍त्री खतिवडाले रोजगारीकालागि ‘च्यालेन्ज फण्ड र शिक्षित युवापुस्तालार्इ सर्टिफिकेट धितो राखी ५% ब्याजमा ७ लाख ऋण पाउने व्यवस्था गर्ने बताएका हुन् ।

काम र रोजगारीलाई प्राथमिकता दिँदै आगामी बजेटमा रोजगार सिर्जनाकालागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बिनियोजन गरिएको छ।

अर्थमन्त्री युवराज खतिवडाले समृद्ध नेपाल सुखी नेपाली नारा पूरा गर्नकालागि नयाँ बजेट लक्षित भएको बताउँदै रोजगारी सिर्जनाकालागि प्रदेशको सहयोगमा रोजगारी सूचना केन्द्र स्थापना गर्ने समेत बजेटमा उल्लेख छ। रोजगारीकालागि छोटा समयको तालिम दिने तथा अवसरहरुको सिर्जना गर्ने समेत बजेटमा उल्लेख छ।

आगामी दिन वर्षभित्र स्थानीयको सहभागितामा उधोगग्राम स्थापना गरिने भएको छ । हरेक स्थानीय तहमा सहकारी संस्थामार्फत सुपथ मुल्य पसल स्थापना गरिने भएको छ । अर्थमन्त्री डा खतिवडाका अनुसार उधोग वाणिज्य तथा अापूर्ती क्षेत्रमा १० अर्बभन्दा बढी छुट्याइएको छ ।

बजेटमा ज्येष्ठ नागरिककका लागि अनिवार्य १ लाख रुपैयाँको स्वास्थ्य बीमा लागू गरिएको छ। यसैगरी जेष्ठ नागरिक आरोग्य आश्रम संचालन गर्ने ब्यबस्था गरिएको छ।

बजेटमा स्वास्थ्य बीमा मुलुकभर लागू हुने बताइएको छ। स्वास्थ्य क्षेत्रको सुधारकालागि ५६ अर्ब रुपैयाँ बजेट छुट्ट्याइएको छ।

यसैगरी दूर्गम भेगका सुत्केरीको उपचारकालागि एयर एम्बुलेन्सको ब्यबस्था गरेको छ। अपांग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि एक अर्ब ८८ करोड सामाजिक सुरक्षाका लागि बिनियोजन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.