काठमाडाैं, असार ८ः चिकित्सा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार परीक्षा सञ्चालनका लागि सिसिएमसीमा अनुमतिको माग गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले जनाए।
तर सिसिएमसीले कोरोनाको जोखिम उच्च रहेको अवस्थामा क्षेत्रीयस्तरमा परीक्षा सञ्चालनका लागि राय मागेकोले सोहीअनुसार आयोग परीक्षाको तयारीमा जुटेको बताए। तर आयोगको स्थापनाको उद्देश्यमध्ये एक विभिन्न विश्वविद्यालयले आ–आफनै ढंगले लिँदै आएका मेडिकल शिक्षाका प्रवेश परीक्षाहरू एकद्वार प्रणालीबाट सञ्चालन गर्ने हो।
सो अनुसार प्रवेश परीक्षा आयोगले सञ्चालन गर्ने दायित्व पाएको हो। तर हाल कोभिडको जोखिमका कारण सबै विद्यार्थीलाई केन्द्रमै अर्थात् काठमाडौंमै बोलाएर परीक्षा सञ्चालन गर्दा जोखम उच्च हुने सम्भावना भएको आँकलन गर्दै सिसिएमसीले क्षेत्रीय रूपमा प्रवेश परीक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने राय आयोगसँग मागेको छ।
‘आयोगले असार २६ गतेदेखि मेडिकलका प्रवेश परीक्षा सञ्चालन अनुमति सिसिएमसीसँग माग गरेको थियो। तर सिसिएमसीले कोरोनाको जोखिम उच्च हुँदै गएकोले मेडिकलका प्रवेश परीक्षाहरू क्षेत्रीयस्तरमा गर्न सकिन्छ कि भन्नेबारे राय मागेको छ,’ प्रवक्ता लुइँटेलले नागरिकसँग भने, ‘त्यही तयारीका लागि आयोगले सोमबार विद्यार्थीहरूलाई क्षेत्रगत रूपमा परीक्षामा सहभागिताका लािग फारम भर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ।’
धेरै विद्यार्थी काठमाडौंकै लागि फारम भरेको र उनीहरू बाहिर जान नमान्ने उनले बताए। त्यही भएर आयोगले सार्वजनिक सूचना प्रकाशित गरी आफूलाई अनुकूल हुने क्षेत्रगत फारम भर्न लगाएको उनको उनको भनाइ छ। उनले विद्यार्थीलाई फारम भर्न तीन दिनको अवधि तोकिएको जनाए। ‘विद्यार्थीले क्षेत्रगत रूपमा फारम भरेपछि बल्ल कुन क्षेत्रमा कति विद्यार्थी परीक्षा दिने सख्या थाह हुन्छ,’ प्रवक्ता लुइँटेलले भने, ‘त्यहीअनुसार काठमाडौं, विराटनगर, धरानलगायतका क्षेत्रहरूमा परीक्षा सञ्चालन हुन्छ,’ उनले थपे, ‘आयोगले असार अन्तसम्म सबै रोकिएका परीक्षा सकाउने तयारी गरेको छ।’
आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आयोगमा मेडिकल शिक्षाको विभिन्न विषयका लागि करिब ८ हजार मात्र विद्यार्थीको सिट रहेको तर प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या ३२ हजार ७ सय रहेको जनाए। ‘धेरै विद्यार्थी काठमाडौंलाई नै केन्द्र मानेर फारम भरेका छन्,’ उपाध्यक्ष डा. गिरीले नागरिकसँग भने, ‘अब विद्यार्थीाले क्षेत्रगत रूपमा फारम भरेपछि क्षेत्रगत रूपमा तथ्यांक आउँछ।’ विद्यार्थीबाट प्राप्त सूचना समेटेर आयोगले सिसिएमसीलाई बुझाउँने र विद्यार्थीको रुचिका आधारमा क्षेत्रगत केन्द्र तोकेर परीक्षा हुने उनले बताए। नागरिक दैनिकबाट