गुल्मी १३ चैत / गुल्मीको रेसुङ्गा नगरपालिकाले वषौंदेखि लालपूर्जा नभएका नागरिकको लागि निस्सा वितरण गर्न सुरु गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीका अनुसार नगरभित्र रहेका भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य सहित निस्सा वितरण सुरु गरिएको हो ।
लालपुर्जा वितरणका लागि नगरपालिका भित्रका ५०५ जनालाई निस्सा वितरण गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । संविधानले प्रत्याभूत गरेको अधिकार बमोजिम भूमिहीन दलित र सुकुमबासीलाई लालपुर्जा वितरणका लागि नगर अगाडि बढेको नगरप्रमुख पन्थीले बताए ।’
नगरपालिकाले झण्डै पाँच सय भन्दा बढि भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको छ। निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरेर जग्गा वितरणका लागि नापजाँच गर्ने कार्य अगाडि बढ्ने नगरप्रमुख पन्थीले बताएका छन् ।
वषौंदेखि लालपुर्जा नभएकाहरूको सपना नगरपालिकाले पुरा गरिदिने भएपछि उनीहरू थप उत्साहित भएका छन् । “लामो समयसम्म सुकुम्वासीको रुपमा बस्दै आएका नागरिकले निस्सा प्राप्त गरेसँगै लालपुर्जा पाउने बाटो खुलेको नगरप्रमुख पन्थीले बताए।