रेसुङ्गा एयरपोर्टमा परीक्षण उडान सफल

रिपोर्ट नेपाल | 2018 Jun 08 | 06:05 pm 4932

गुल्मी जेठ २५: बिहान १० बजे देखि आफ्नो आँगनमा रहेको एयरपोर्टमा जहाज आउने आशा बोकेर बसेका हजारौँ गुल्मेली जनताले ६ घण्टा भन्दा बढीको प्रतिक्षा पछि मात्रै जहाज अवतरण भएको देखेर अत्यान्तै खुशी देखिएका थिए ।

६ घण्टाको प्रतिक्षा पछि पोखराबाट आएको तारा एयरको9N-AKLजहाजले दोस्रो प्रयासबाट अवतरण गर्न सफल भएपछि बाजा गाजा सहित हजारौँ दर्शकले स्वागत गरेका थिए । बिहान १० बजे अवतरण हुने भनिए पछि उद्घाटनका लागि परराष्ट्र मन्त्री मनाङ एयरको हेलिकोप्टरबाट विमान स्थल समयमै अवतरण गरेका थिए ।

मन्त्री ज्ञवाली संगै गुल्मी जन्मथलो भएका सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल पनि रेसुङ्गा विमान स्थलमा पुगेका थिए । रेसुङ्गा विमान स्थलको उद्घाटन समारोहमा चन्द्रागिरी केबुलकारका अध्यक्ष चन्द्र ढकाल पनि उपस्थित रहेका थिए । ढकालले ऋष्यश्रृंग्य ऋषिले तपस्या गरेको रेसुङ्गा पर्वतमा पनि केबुलकार राख्न सकिने मनसाय व्यक्त गरेका थिए ।

परिक्षण उडान सफल बनाउन र संभाब्य दुर्घटनाबारे सचेत रहदै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अत्यन्तै चनाखो भएर खटेका थिए । दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी लगाएतका सबै निकायलार्इ तयारी अवस्थामा राखिएको थियो ।

३७ वर्ष देखि चर्चामा रहेको गुल्मीको विमानस्थलले सफलता हासिल गरेपछि स्थानीय मात्रै नभएर छिमेकी जिल्लाका जनता समेत खुशी भएका छन् । एयरपोर्ट निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले जहाज आउनु पूर्व प्रतिबेदन पेश गरेका थिए ।

रेसुङ्गा विमान स्थलकाे सफल परिक्षण उडानकाे फाेटाे फिचर

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.