गुल्मी, चैत २५ः रेसुङ्गा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भरतपुर महानगरपालिकाकी प्रमुख एवं माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई शनिबार बिहान स्वागत गरेका छन् ।
नगरपालिकाको कार्यालय तमघासमा आयोजित स्वागत कार्यक्रममा दुई प्रमुखबीच अनुभव र विकास बारे साटासाट भएको थियो । भेटघाटका क्रममा प्रमुख दाहालले रेसुङ्गा नगरपालिकालाई प्रचार प्रसार गरेर पर्यटकीय स्थल बनाउन सकिने कुरामा जोड दिएकी थिइन् ।
रेसुङ्गा नगरका प्रमुख खिलध्वज पन्थीले आफ्नो बुद्धी विवेकका साथै विज्ञको सल्लाहमा ऐतिहासिक रेसुङ्गा पर्वत लगाएत जिल्लाका ऐतिहासिक र रमणीय स्थललाई पर्यटकीय स्थल बनाउन लागी परेको बताएका थिए ।
भरतपुर महानगरकी प्रमुख रेणु दाहालले रेसुङ्गा पर्वतमा रहेको ऐतिहासिक यज्ञशालाको समेत अवलोकन गरेकी थिइन् । प्रमुख दाहाल सँगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का जनसम्पर्क विज्ञ बुद्धी जिसीको समेत उपस्थिति रहेको थियो । प्रमुख दाहाल र विज्ञ जिसीलाई रेसुङ्गाका प्रमुख खिलध्वज पन्थीले मायाको चिनो प्रदान गरेका थिए ।