काठमाडाैं, जेठ १९ः गत १० जेठमा भएकाे रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाल दलित संघले साेमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
रूकुमको चौरजहारी नगरपालिका-८ सोती घटनामा मारिएका नवराज विकसहित अन्य मृतकका परिवारको न्यायका लागि दलित युवा प्रर्दशनमा उत्रिएका हुन् ।
विराेध प्रदर्शनमा प्रदर्शनकारीले बाँच्न पाउने अधिकार सुनिश्चित गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्न पाइदैन, पीडितलाई न्याय नदिने सरकार हामीलाई चाहिँदैन, मृतकलाई सहिद घोषणालगायतका नारा लगाउँदै विरोध गरेका थिए ।
लामो समयदेखिको प्रेम सम्बन्धमा रहेका युवायुवती विवाह गर्न लाग्दा दलित भएकै कारण हत्या गर्नु जघन्य अपराध भएकाले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूकाे माग छ।
उक्त घटनामा जाजरकोट भेरी नगरपालिका ११ का गोविन्द्र शाही अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।