एजेन्सी, असार ३१ : स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलोले आफू विश्वको उत्कृष्ट क्लबबाट फुटबल खेलिरहेको बताएका छन्। रियल मड्रिड टिभीले लिएको अन्तर्वार्ताका क्रममा ३१ वर्षीय मार्सेलोले रियल विश्वकै उत्कृष्ट क्लब भएको बताए।
प्रि–सिजन टुरमा रहेको रियलले आइतबार पाँचौं दिनको ट्रेनिङ क्यानडामा सकेको थियो। र, यसैक्रममा मार्सेलोले सबैकुरा जित्नका लागि रियल मड्रिडका खेलाडी कडा मेहनतमा जुटेको बताए। उनले आउँदो सिजनका सबै ‘सिंगल ट्रफी’ जित्नका लागि रिल लागिपरेको बताए।
रियल मड्रिडमा आफ्नो १४औं सिजन बिताइरहेका मार्सेलोले क्लब छोड्न सक्ने धेरैले आँकलन गरेका थिए। पूर्वटिममेट तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको क्लब युभेन्टस जान लागेको भन्ने चर्चाकाबीच डिफेन्डर मार्सेलोले आफू क्लबमै रहने बताएका छन्।
उनले भनेका छन्, ‘हामी अहिले कडा मेहनत गरिहेका छौं। हामी यहाँ उत्कृष्ट दिनेछौं। हाम्रो उद्देश्य नै जित्नु हो। यदि, हामी बलियो भएमा मात्र हामीलाई पूर्ण सिजन जित्न सहयोग मिल्छ। हामी आफ्ना समर्थकलाई खुसी दिलाउन पनि प्रि–सिजनको तयारीमा छौं।’
यसैगरी उनले क्लब छोड्ने विषयमा पनि मुख खोलेका छन्। उनले भनेका छन्, ‘मैले सधैँ नै भन्ने गरेको छु। म यहीँबाट मेरा सपनाहरू पूरा गर्नेछु। म यहाँ संसारकै सबैभन्दा उत्कृष्ट क्लबमा छु। यो मेरो १४औं सिजन हो। र, म अहिले पनि उस्तै छु, जतिबेला म यहाँ आएको थिएँ।
‘हामी सधैँ एक अर्कालाई सहयोग गछौं,’ उनले भने,‘सधैं सबैलाई सहयोग गर्ने प्रयास गर्छु। तर, यस कार्यमा म मात्र छैन। सर्जियो रामोस, करिम बेन्जेमा, राफेल भराने र नाचो पनि यहाँ धेरै वर्षदेखि अरूलाई सहयोग गर्दै आइरहेका छन्।’