राहदानी विधेयक २०७५ माथिको संशोधन प्रस्तावमा छलफल

रिपोर्ट नेपाल | 2019 Jan 13 | 07:05 pm 1463

काठमाडौँ, २९ पुस : राष्ट्रिय सभा विधायन समितिले राहदानी विधेयक २०७५ माथि संशोधन प्रस्ताव हाल्ने सदस्यहरुसँग छलफल गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्तासँग विधेयक संशोधन गर्नु पर्नाका औचित्य पुष्टि गर्न धारणा माग गरिएको थियो ।

बैठकमा विधेयकका बारेमा सांसदहरुले राखेका जिज्ञासाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका थिए । सभापति परशुराम मेघी गुरुङले उक्त विधेयकमाथि केही दिनपछि समितिमा दफावार छलफल हुने जानकारी दिए ।

उक्त विधेयकमा खासगरी नेपाल सरकार वा अदालतको आदेशबाट विदेश जान रोक लगाएका व्यक्तिको हकमा राहदानीको अवस्था के हुने भन्ने विषयमा विभिन्न कोणबाट छलफल हुँदै आएको छ ।

अदालतबाट भ्रष्टाचार ठहरिएको तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलिरहेकाको बारेमा के गर्ने भन्ने विषयमा पनि प्रस्ट पार्नुपर्ने आवश्यकता देखिएको छ ।

राहदानी तथा अध्यागमनसम्बन्धी कसुरको मुद्दा चलिरहेको व्यक्तिलाई रोक्ने कि नरोक्ने भन्ने जस्ता विषय छलफलमा आएको उनले जानकारी दिए । उक्त विधेयकमाथि तीन समूहमा १० जना सदस्यले १६ वटा संशोधन हालेका थिए । सदस्यबाट आएका संशोधन औचित्यका आधारमा विधेयकमा समावेश हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.