नवलपरासी, बैशाख ६: राहतमा बाँडेको चामल गुणस्तहीन भएको पुष्टि भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दिएकाे राहत चामलमा गुणस्तरहीन पाइएकाे हाे ।
गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले राहतमा वितरण भएको चामल गुणस्तरहीन भएको प्रमाणित गरेको हो।
गत चैत २८ मा नगरपालिकाले वितरण गरेको चामल गुणस्तरहीन भएको भन्दै वडा नम्बर ११ मा वितरण भएको राहत स्थानीयले नगरपालिकाको गेटमै फालिदिएका थिए भने वडा नम्बर ६ मा अध्यक्षको घरमा लगेर फर्काइदिएका थिए ।
त्यसैगरी वडा नम्बर ३ बाट पनि वितरण भएको राहत फिर्ता गरिएकाे थियो। स्थानीयबाट राहतको चामल गुणस्तरहीन भएको गुनासो आएपछि गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाको टोलीले चामलको नमुना संकलन गरी परीक्षणका लागि लगेका थिए।
चामलको ल्याव टेष्ट गर्दा त्यसको नतिजा नेपाल सरकारको मापदण्डभन्दा कम भएका कार्यालयका सहायक निरीक्षक नुरुल एन भाटले जानकारी दिए ।