काठमाडौँ, २१ पुष / राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरूमाथि छलफल भइरहेको छ ।
रास्वपाले केन्द्रीय समितिको बैठकबाट ‘संविधान परिमार्जन सुझाव कार्यदल’गठन गरेको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको बताए।
यसैबीच रास्वपाको केन्द्रीय समितिको बैठकले संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरेको छ ।
कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने भएको छ । कार्यदल सदस्यमा मा कान्तिशिखा धिताल,डा नन्दन यादव,गणेश कार्की,सोभिता गौतम,असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन्।
उक्त कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् । पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ ।
यस्तै बैठकमा पार्टीको केन्द्रीय समिति,सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल हुने छ ।