काठमाडौँ, ०८ पुष / डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यबाहक सभापति भएका छन् । उपसभापति अर्याललाई पार्टी सचिवालय बैठकले कार्यबाहक सभापति बनाएको हो ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ । ज्येष्ठताका हिसाबले अर्यालभन्दा अघि अर्का उपसभापति स्वर्णिम वाग्ले छन् ।
सभापति लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगीलगायत कसुरमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेलाई प्रहरीले २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेको थियो ।