राष्ट्र बैंकले गर्‍यो कडाइ, आयातमा अब धरौटी

रिपोर्ट नेपाल | 2021 Dec 21 | 07:58 am 2165

काठमाडौं, पुस ६: नेपाल राष्ट्र बैंकले सवारीदेखि कस्मेटिकसम्मका वस्तु आयातमा कडाइ गरेको छ। आयातकर्ताले बिना धरौटी सामान ल्याउन नपाउने भएका छन्। बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार ‘एकीकृत परिपत्र २०७६’ मा संशोधनमार्फत परिपत्र जारी गरेको हो।

राष्ट्र बैंकले विभिन्न २०  वस्तु आयात गर्नुअघि अनिवार्य शतप्रतिशत मार्जिन धरौटी तिर्नुपर्ने व्यवस्था गरेको छ। मोटरसाइकल, कार, कस्मेटिक सामानहरू, तास, काँचका सामानलगायत आयातमा पहिल्यै कुल रकमबराबर धरौटी राख्नुपर्ने भएको छ।

यसअघि व्यवसायीले प्रतीतपत्र (एलसी) खोलेका आधारमा सामान ल्याएपछि मात्रै बैंकलाई भुक्तानी गर्नुपथ्र्यो। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव हुन थालेपछि धरौटी राखे मात्रै सामान आयात गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो।

आयात अत्यधिक बढेपछि शोधनान्तर घाटा बढेको र यसले विदेशी विनिमय सञ्चितिसमेत घट्ने संकेत देखिएपछि आयातमा कडाइ गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। ‘बैंकले पहिल्यै एलसीसँगै धरौटी लिएको वा नलिएको पनि हुन सक्छ। तर अब तोकिएका वस्तुमा अनिवार्य रूपमा धरौटी लिएर मात्रै आयात गर्नु पर्नेछ,’ उनले भने। हार्मोनिक कोड भएका वस्तुसमेत मार्जिन लिई प्रतीतपत्रमार्फत मात्र आयात गर्ने व्यवस्था मिलाएको छ।

राष्ट्र बैंकले अत्यावश्यक उपभोग्य वस्तु आयातमा भने कडाइ गरेको छैन। आयात गर्नुअघि व्यवसायीले धरौटी राख्नु पर्नेमा ल्वाङ, चिनी र चिनीबाट बनेको पदार्थ, स्प्रिट्स, सिरका, सुर्ती र सुर्तीका तयारी वस्तु छन्। यस्तै कस्मेटिकअन्तर्गत अत्तर, सौन्दर्य वा मेक अपका सामानहरू (औषधिबाहेक), छालाको सुरक्षाका लागि प्रयोग गरिने वस्तु, घाम छल्ने वा छाला रंग्याउने सामान, हात र नङ प्रशाधन, गोडाको उपचारसम्बन्धी सामान छन्। स्याम्पु, कपाल सिधा गर्ने साधन, कपाल रंग्याउने, कपालमा राख्ने तेल, क्रिम, कन्डिसनर कपालमा लगाउने जाली, क्यापलगायतमा समेत धरौटी राख्नुपर्छ।

यसैगरी काठ र काठबाट बनेका सामान, जुत्तासँग सम्बन्धित सामग्री, छाता, लठ्ठी, बस्न नहुने छडी आयातमा पनि धरौटी राख्नुपर्छ। राष्ट्र बैंकले तयारी प्वाँख र भुवा, कृत्रिम फुल, पत्थर प्लास्टर सिमेन्टबाट बनेका पदार्थ, चिनियाँ माटाका उत्पादन, बोतल, सिसीलगायत काँचका सामान, बहुमूल्य धातु, चाँदी तथा सुनको जलप, कार, मोटरसाइकल अन्य फर्निचर यसका पार्टपुर्जा र तास आयातमा पनि राष्ट्र बैंकले कडाइ गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.