राष्ट्रिय सभामा मन्त्री विष्टको जवाफ

रिपोर्ट नेपाल | 2018 Jul 09 | 12:46 pm 3192

काठमाडौँ, असार २५ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिए।

राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले रोजगारदाता र श्रमिकबीचको असल सम्बन्ध निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री विष्टले भने, “श्रम क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिले अब उप्रान्त ठाउँ पाउने छैन, रोजगारलाई भरपर्दो, पारदर्शी र विश्वासयुक्त बनाइनेछ, स्वदेशमै सीपयुक्त जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।”

आगामी साउन १ गतेदेखि श्रमिकको न्यूनतम ज्याला समेटिएको ऐन कार्यान्वयनमा आउने जानकारी दिँदै उहाँले देशमा रोजगारका आधार निर्माण नभएसम्म आफैँलाई चाहिने आवश्यक जनशक्ति पनि तयार हुन नसक्ने बताए।

मन्त्री विष्टले भने, “सीपयुक्त जनशक्ति उत्पादन गर्न र सरकार, निजी क्षेत्र तथा सहकारीमार्फत रोजगारीको आधार फराकिलो बनाउने काम शुरु गरिएको छ, रोजगारीका क्षेत्रलाई व्यवस्थित तुल्याउन अब लगातार सुधारको कार्यक्रम अघि बढाइनेछ, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत एक वर्षमा एक लाख युवालाई रोजगारी दिने गरी कार्यक्रम निर्माण भइसकेको छ, प्रदेश र स्थानीय तहसँग समन्वयन गरी रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ । सात सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिनेछ ।

अहिले ४३ लाख युवा विभिन्न मुलुकमा रोजगारीका लागि विदेशिएको जानकारी दिँदै उहाँले सरकारको कर्तव्य भनेको युवालाई सुरक्षित राख्नु र रोजगारी दिलाउनु हो उनले जोड दिए।

मन्त्री विष्टले भने, “रोजगारबाटै विकासको आधार तयार गर्नुपर्ने आवश्यकता छ, यदि हामीले सही ढंगले त्यसो गर्न सकेनौँ भने देश केही वर्षमा युवाविहीन अवस्थामा पुग्ने हुँदा सम्बद्ध मन्त्रालयसँग समन्वयात्मक भूमिकाबाटै रोजगारीका अवसर सिर्जनाका लागि व्यवस्थित कार्यविधि सार्वजनिक गरिनेछ । ”

धेरैभन्दा धेरै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले कार्यक्रम अघि बढाउने जानकारी दिँदै उनले योगदानमा आधारित सुरक्षा कार्यक्रम एक वर्षभित्र कार्यान्वयनमा ल्याइनेछ बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.