काठमाडौँ, कात्तिक २८ : ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भएका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बुधबार स्वदेश फर्कने भएको छ । नेपाली फुटबल टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ ।
२०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा हार खेप्दै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो । नेपालका लागि महिला फुटबलको यो ऐतिहासिक सफलता हो । प्रतियोगिताको नियमअनुसार प्रत्येक समूहका शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । सोही अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो । नेपाल रहेको समूहबाट म्यानमा विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । बङ्गलादेश भने समूह चरणबाटै बाहिरिएको छ ।
नेपाली महिला फुटबल टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् । त्यस्तै टीमको गोलकिपरमा एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।