राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

रिपोर्ट नेपाल | 2020 Sep 14 | 07:59 am 3651

काठमाडाैं, भदाै २९ः प्रधानमन्त्री केेपी शर्मा ओलीले  राष्ट्रिय बाल दिवसको अवसरमा बधाई तथा शुभकामना सन्देश दिएका छन् । उनले बालबालिकाकाे हक-हित संरक्षणका लागि सरकार प्रतिबद्ध रहेकाे जनाएका छन् ।

प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, यस वर्ष हामीले ‘विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ देशव्यापी रुपमा बाल दिवस मनाउँदै छौं,’  ‘सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिका सम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको छ । सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित छ ।’

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको स्मरण गराउँदै उहाँले साेहीअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएका छन् ।

बाल दिवसको अवसरमा प्रधानमन्त्रीले भने, ‘बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्दछ । बालबालिका सेतो कपडा हुन्, तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्दछ । तसर्थ सिर्जनाका आधारभूमि हाम्रा यी बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत् सकारात्मक ज्ञान सम्प्रषेण गर्नु पर्दछ ।’ समस्त अभिभावकहरुलाई यसतर्फ दायित्वशील हुन समेत उनले आह्वान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.