काठमाडौं, फागुन ७: राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।
७० औं प्रजातन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नागरिकमा शुभकामना दिँदै उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गरेका छन् ।
लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रिक आन्दोलनमार्फत देशको गरिमा र विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अभिमुख रहेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, जनताको त्यही सङ्घर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर अहिले हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढिरहेका छौँ ।
समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा आजको दिनलाई स्मरण गर्दै प्रधानमन्त्रीले प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण सङ्घर्षमा आफूलाई समर्पित गर्ने शहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातन्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने शहीदप्रति श्रद्धासुमन अर्पण गर्दछु, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।