राष्ट्रियसभाद्वारा पाँच विधेयक पारित

रिपोर्ट नेपाल | 2018 Sep 16 | 04:55 pm 2092

काठमाडौँ, भदौ ३१ : सरकारले राष्ट्रियसभा र संघिय संसद्मा विधेयकहरु तिब्र गतिले पेश गर्न थालेको छ । आइतबार बसेको राष्ट्रियसभाको तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाद्वारा प्रस्तुत गरिएको ‘सार्वजनिक सुरक्षा(तेस्रो संशोधन) विधेयक २०७५ , ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५ सर्वसम्मतका साथ पारित गरिएको छ । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल द्वारा प्रस्तुत ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५ लाई पनि प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको संघिय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा प्रस्तुत ‘जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक २०७५ र ‘सामाजिक सुरक्षा विधेयक २०७५ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित भएको छ ।

त्यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले चार विधेयक प्रतिनिधिसभाको शनिबार र आइतबारको बैठकले पारित गरेको जानकारी दिएका थिए । ती विधेयकमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी(पहिलो संशोधन) विधेयक २०७५, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५, ‘बालबालिकासम्बन्धी विधेयक, २०७५ र ‘अपराधपीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ छन् । राष्ट्रियसभाको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.