राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ती

रिपोर्ट नेपाल | 2019 Oct 24 | 06:49 am 1546

काठमाडौं, कात्तिक ७: म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी राष्ट्रपति विद्यादेवी भण्डारी  स्वदेश फर्केका छन्। उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको जापान भ्रमण फलदायी भएको बताए । उनले यस भ्रमणले द्विपक्षीय सहयोग तथा सम्बन्ध बिस्तारमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरेका थिए ।

जापानका सम्राट् नारुहितोको गद्दी आरोहणमा सहभागी हुनुभएका राष्ट्रपति भण्डारीले त्यस अवसरमा जापान सरकारलाई धन्यवाद दिनुका साथै जापानका सम्राट्, सरकार तथा जापानका जनतालाई बधाई एवं सुख शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेको गृहमन्त्री थापाले जानकारी दिएका छन् ।

हालै जापानमा आएको आँधी बेहरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले समवेदना प्रकट गर्नुभएको सुनाउनुभयो । गृहमन्त्री थापाका अनुसार राष्ट्रपति भण्डारीले त्यस अवसरमा नेपालले गरेको ऐतिहासिक, राजनीतिक स्थायित्वबाट सामाजिक विकासका लागि अनुकूल अवस्था सिर्जना भएको बताएका थिए ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्त रुप दिन सरकारले विकासका लागि स्पष्ट नीति, लगानीमैत्री वातारवरण बनाउन चालिएका कदमबारे प्रकाश पारेका थिए ।

नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेकाले जापानको पुँजी प्रविधि सीप र ज्ञान नेपालका लागि महत्वपूर्ण हुने भन्दै राष्ट्रपति भण्डारीले व्यापार तथा लगानी र पर्यटन प्रवर्द्धनको क्षेत्रमा दुई देशबीच सहकार्य हुनसकेमा जनस्तरको सम्बन्धमा विस्तार हुन जाने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गरेका छन् । जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलनका नकरात्मक असरका सम्बन्धमा विश्व समुदायको ध्यानकर्षण तथा अन्तराष्ट्रिय सहयोग जुटाउन नेपालले सन् २०२० को अप्रिलमा आयोजन गर्ने सगरमाथा संवादमा जापान सरकारको तर्फबाट उच्च तहको सहभागिताका लागि अनुरोध गरेका छन् ।

उनी गत असोज २९ गते बुधबार म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा म्यानमार गएका थिए । म्यानमारबाटै कात्तिक ३ गते उनी जापान प्रस्थान गरेकी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.